विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय समिति बनाउन नेकपाको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रास्वपा सभापति रवि लामिछानेको प्रस्तावअनुसार विपद्पछिको व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा नेता वर्षमान पुनले विपद् व्यवस्थापन सरकार वा कुनै एक मन्त्रालयको मात्र जिम्मेवारी नभएको बताए। उनले राजनीतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय समुदायलगायत सबै पक्षलाई समेटेर राष्ट्रिय संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। रसुवा बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनामा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै पुनले सरकारको ध्यानाकर्षणसमेत गराए। उनले भने, ‘रवि लामिछानेले यस विपत्तिसँग जुध्न प्रस्ताव गर्नुभएको सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्तावलाई हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समर्थन जनाउन चाहन्छु।’

यसअघि भदौ १० गतेको विनाशकारी बाढीपछि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा सुधारका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने १० बुँदे संकल्प गरेको थियो। तर, उक्त संयन्त्र हालसम्म गठन हुन सकेको छैन। दोस्रो चरणको सर्वदलीय बैठकले भने राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गर्ने सहमति गरेको थियो। केन्द्रमा संयन्त्र गठन गर्ने विषयमा संसद्भित्र संसदीय समिति बनाउने वा संसद् बाहिर छुट्टै संयन्त्र निर्माण गर्ने विषयमा छलफल भइरहेका बेला पुनले लामिछानेको प्रस्तावमा नेकपाको समर्थन रहेको स्पष्ट पारेका हुन्।