बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कसि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गएराति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगङ्गा नदीमा एक्कासि बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । उहाँले भन्नुभयो, “नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो ।”

कपिलवस्तु नगरपालिका-६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ ।