ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् । नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको शिखर सम्मेलनका क्रममा मोदीले यस्तो बताएका हुन् । ‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढेको छ,’ मोदीले भने, ‘किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ ।’

ब्रिक्सको शक्ति विविधता र सहकार्यमा निहित रहेको मोदीले बताए । ‘हामी फरक-फरक वास्तविकतामा आधारित हुन सक्छौं । तर सहकार्यका माध्यमबाट हामी सँगै अघि बढ्छौँ र सम्पूर्ण मानवताको हितका लागि समृद्ध हुन्छौँ,’ मोदीले भने । ब्रिक्स देशहरूको विविधता पहिचानका रूपमा कायम रहनुपर्ने उनले बताए । ‘हाम्रो सहकार्य प्रेरणाको स्रोत बनोस् र हाम्रो प्रगतिले सम्पूर्ण मानवतालाई लाभ पुर्‍याओस्,’ मोदीले भने ।

कृषिमा एआई र जियोस्पेसियल प्रविधिमा जोड
यस्तै, मोदीले प्रस्तावित ब्रिक्स स्टार्टअप इनोभेसन फन्डले नवीन र विस्तार गर्न सकिने समाधानलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले ब्रिक्स डिजिटल एग्रिकल्चर नेटवर्कमार्फत किसानका आवश्यकता सम्बोधन गर्न कृत्रिम बौद्धिकता (एआई), जियोस्पेसियल प्रविधि र डिजिटल सार्वजनिक पूर्वाधारको प्रयोग गरिने बताए ।

मोदीले ‘प्रविधि र महत्त्वपूर्ण खनिजको शस्त्रीकरण’ ले साझा प्रगतिमा अवरोध पुर्‍याउनसक्ने चेतावनी दिँदै प्रविधिको प्रयोग र पहुँचमा सबैलाई समेट्ने नीति आवश्यक रहेकोमा जोड दिए ।