राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले ‘जेनजी विद्रोह’ले उठाएका अपेक्षा सम्बोधन हुन नसक्दा मुलुक थप अनिश्चिततातर्फ धकेलिएको बताएका हुन्।
उनले भने, “जेनजी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन। जनताको आकांक्षा परिपूर्तिको दिशातर्फ सरकार अगाडि बढ्न सकेन।” अध्यक्ष लिङ्देनले मुलुकले अब कुनै पनि प्रकारको निषेधको राजनीति धान्न नसक्ने धारणा पनि राखे। उनका अनुसार राजनीतिक शक्तिहरूबीच सहमति र सहकार्य कायम गर्दै मुलुकलाई वर्तमान अवस्थाबाट निकास दिनुपर्ने आवश्यकता छ।
देशमा देखिएको अनिश्चितता अन्त्य गर्न सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने समय आएको लिङ्देनको भनाइ छ।


















