सांसद केसीको प्रश्न– २६ सयमा सजिलै ग्यास पाइन्छ, तोकिएको मूल्यमा पाइँदैन किन ?

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास माग हुँदा आपुर्ति कम रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थपे, ‘घण्टौं लाइन बस्दा पनि ग्यास नपाइने अवस्था छ । तर कालोबजारमा सजिलैसँग २६ सय रुपैयाँमा पाइने जुन खालको स्थिति छ । यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपमा प्रश्न उठाएको छ ।

२६ सयमा सजिलै ग्यास पाइने, तर तोकिएको मूल्यमा नपाइने अवस्था अन्त्य हुनुपर्ने उनको आग्रह छ । उनी भन्छन्, ‘यो अस्वभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो । कानुनी अधिकारको दुहाइ दिँदै अनुगमन निकायहरू मुकदर्शक र निरीह बन्नु सरकारको घोर गैरजिम्मेवारीपन हो ।’
२० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने नियम कागजमा मात्रै सीमित छ । विपद्मा बेला नागरिकको चुलो बाल्नु सरकारको मुख्य काम भएको भनेर उनले ध्यानाकर्षण गरे ।

अन्य खाद्य पदार्थको समेत महंगी धेरै भएको भनेर अनुगमन गर्न आग्रह गरे । अन्यथा, जनतामा असन्तोष र विद्रोह जन्मिने उनको चेतावनी छ ।
बिचौलियाई पोस्न जनताले रास्वपालाई दुई तिहाइ मत नदिएको ख्याल गर्न उनले आग्रह गरे ।