देउवानिकट ५१ जना नेताहरू   सानेपास्थित केन्द्रीय कार्यालय फर्किए।

 

 

गत पुसको विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट धेरै नेताहरू वडा अधिवेशनको संघारमा सानेपास्थित केन्द्रीय कार्यालय फर्किदा चहलपहल छ।

हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४ औं महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेको थियो। सभापति गगन थापाले उनीहरूलाई केन्द्रीय सदस्य पनि मनोनीत

गरेका थिए। त्यसपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दैछ।

देउवानिकट ५१ जना नेताहरू सानेपा फर्कंदा केन्द्रीय कार्यालयमा नेताकार्यकर्ताहरूले अंकमाल र खुसीयालीसमेत गरेका छन्। निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, नैनसिंह महरलगायत सानेपा फर्केका छन्।

नेता मीनबहादुर विश्वकर्माले अहिले ५१ जना नेताहरू आएको र थप नेताहरू पनि आउने पत्रकारहरूलाई बताए।

‘हामी केन्द्रीय कार्यालय आएका छौं, १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि सबै तहबाट पहल गरौं भन्ने हाम्रो अपिल छ,’ उनले भने।

उनले निवर्तमान सभापति देउवा कुनै पनि उम्मेदवार नरहेको पनि बताए। ‘देउवा सर्वोच्च नेता हुनुहुन्छ,’ उनले भने। देउवालाई आफूहरूले धोका नदिएको पनि बताए।

बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले देउवा पनि यही पार्टीमा आउने बताएका छन्।

‘महाधिवेशनलाई उत्सवका रूपमा अघि बढाउन खोजेका छौं, यो वा त्यो पक्षभन्दा पनि कांग्रेस पक्ष भएर अधिवेशनमा जुटौं,’ उनले भने, ‘यो महाउत्सवमा कोही पनि नछुटुन्। अब शेरबहादुर देउवा अभिभावक भएर कांग्रेसलाई राम्रो बनाएको हेर्न चाहनुहुन्छ। देउवा पनि यो पार्टी कार्यालय आउनुहुन्छ, तर समय लाग्छ, ढुक्क हुनुस्।’