एसियन पेन्ट्स नेपालको नेतृत्वमा दीपक बराल नियुक्त

एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल नियुक्त भएका छन् । सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा व्यावसायिक यात्रा सुरु गरेका बरालले बिक्री, मार्केटिङ, सेल्स एक्टिभेसनलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बरालले अगस्ट २०२६ सम्म कम्पनीको सेल्स एन्ड मार्केटिङ प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीमा लामो समयको अनुभव र विभिन्न तहमा निर्वाह गरेको भूमिकापछि उनले अहिले एसियन पेन्ट्स नेपालको समग्र नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।

बीचमा केही समय अन्य कम्पनीको उच्च व्यवस्थापन तहमा काम गरेका बराल सन् २०२४ मा एसियन पेन्ट्सको सेल्स एन्ड मार्केटिङ प्रमुखका रूपमा पुनः कम्पनीमा फर्किएका थिए ।

उपलब्ध विवरणअनुसार, एसियन पेन्ट्सले यसअघि नेपाल बजारको नेतृत्वमा बाहिरी मुलुकका नागरिकलाई जिम्मेवारी दिँदै आएकोमा बराल नेपाली नागरिकका रूपमा उक्त जिम्मेवारी पाउने पहिलो व्यक्ति बनेका छन् ।