काठमाडौँ, ६ असोजः राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल देखा परिरहेको मिथ्या सूचनाको बाढी नियन्त्रण गर्नका लागि समाचार समितिहरुको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउनुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रीय देशहरुका समाचार समितिको संस्था, ओएनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा रुसको मस्को सहरमा जारी समारोहलाई नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले मिथ्या सूचना हाल विश्वकै समस्या बनेकाले यसको नियन्त्रणमा अन्य सञ्चारमाध्यमहरुका तुलनामा समाचार समिति नै बढी प्रभावकारी हुने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “समाचार समिति कुनै एउटा मात्र मिडिया हाउस नभएर मिडियाको पनि मिडिया हो । प्रत्येक समाचार समितिले सयौँ सञ्चारमाध्यमको प्रतिनिधित्व गरेका हुन्छन् । यसरी एउटा समाचार समितिबाट सम्प्रेषित समाचार सयौँ, हजारौँ मिडियामा जाने भएकाले मिथ्या सूचना नियन्त्रणका लागि समाचार समिति नै बढी प्रभावकारी र महत्वपूर्ण हुनेछन् ।” ओएनाको ६५ औँ वार्षिकोत्वसको अवसर पारेर रुसको तास समाचार समितिद्वारा आयोजित तथा एसिया तथा प्रशान्त क्षेत्रका ३३ देशका ४२ वटा समाचार समिति सहभागी सो समारोहको मुख्य विषयवस्तु (थिम) हाल विश्वमा प्रमुख समस्याका रुपमा देखिएको मिथ्या सूचना नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेको छ । सो सम्मेलनमा महाप्रबन्धक राईले मिथ्या सूचनाजस्तो समस्या कुनै एक देश या क्षेत्रमा मात्र नभएर विश्वमै फैलिएकाले यसको नियन्त्रणका लागि समाचार समितिहरुका बीचमा समन्वय र समाचार आदानप्रदान आवश्यक रहेको भन्दै यसका लागि ओएनाजस्ता सङ्गठनको भूमिका पनि महत्वपूर्ण रहने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार समितिहरुका बीचको समन्वय र तथ्य जाँच एजेन्सीहरुसँगको सहकार्यबाट यस्तो समस्या नियन्त्रण गर्न सकिन्छ । अन्यथा अहिले देखिएको मिथ्या सूचनाले नागरिकको सही सूचना र समाचार प्राप्त गर्न पाउने अधिकारको पनि हनन् भइरहेको छ ।” महाप्रबन्धक राईले विश्वमा आर्थिकमन्दीलगायतका विविध कारणले गर्दा मिडियाहरु पनि डिजिटल माध्यमका रुपमा रुपान्तरित भइरहेका र अहिले पनि विभिन्न समस्या झेलिरहेकाले सबै मिडियालाई समयानुकूल ‘कन्टेन्ट’हरु उपलब्ध गराई समाचार समितिहरुले सहयोगीका रुपमा सबै मिडियालाई सेवा दिनुपर्ने धारणा पनि राख्नुभयो । उहाँले ओएना सङ्ठनमा आबद्ध सबै समाचार समितिहरुका बीचमा समाचार आदानप्रदान गर्नेगरी सम्बन्ध विकसित गर्न प्रस्ताव गर्दै त्यसका लागि रासस तयार रहेको पनि बताउनुभयो । उहाँले सम्बोधनका क्रममा समाचार समितिले ठूलो सङ्ख्याका मिडियाको प्रतिनिधित्व गर्ने र मिडियाको पनि मिडियाका रुपमा काम गरिरहेकाले ज्ञानमा आधारित समाज निर्माण गर्न र सूचना र ज्ञानलाई रुपान्तरण एवं हस्तान्तरण गर्न समाचार समितिको भूमिका निकै महत्वपूर्ण रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको दु्रततर विकाससँगै आमसञ्चारमाध्यमका स्वरुप र कार्यपद्धतिमा पनि दिनप्रतिदिन परिवर्तन भइरहेको वर्तमान विश्वमा समाचार समितिहरुले पनि समयानुकूल आफूहरुलाई विकसित, परिमार्जित र अद्यावधिक गर्दै मिडियाको सहयोगी संस्थाका रुपमा उनीहरुको आवश्यकता र प्रविधि सुुहाउँदो सेवा प्रदान गर्नुपर्ने अवस्था छ ।” आइतबारदेखि रुसी सहर मस्कोमा सुरु भएको सो कार्यक्रममा राससका तर्फबाट महाप्रबन्धक राई सहभागी हुनुहुन्छ । रासस पनि ओएनाको सदस्य रही आएको छ । –––


















