काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगजनीमा ज्यान गुमाएका चालकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
सोमबार मध्याह्न काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गर्दा उनीसमेत घाइते भएका थिए। उनको उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
यसअघि आगजनीमा परेका दावा लामा हुन् भन्ने विवरण आएको थियो। तर लामाको लाइसेन्स दुरूपयोग भएको खुलेको छ। अर्जुनले पनि ट्राफिकलाई आफू दावा भएको बताएका थिए। तर पछि लामा सम्पर्कमा आएपछि प्रहरीले उनको परिचय खोज्न थालेको हो।
एसएसपी घिमिरेका अनुसार अर्जुनले दावाको लाइसेन्समात्र नभई बैंक खाता र नागरिकतासमेत प्रयोग गरेका थिए। उनले अन्य विभिन्न व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू प्रयोग गरेको हुन सक्ने एसएसपी घिमिरेले बताए।
मृतक अर्जुन यसअघि बालाजुमा २०८२ कात्तिक भएको बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न भएर फरार रहेको प्रहरीको रेकर्डमा देखिएको हो। त्यतिबेला उनले सुनिल तामाङको नाममा भएको लाइसेन्स प्रयोग गरेको एसएसपी घिमिरेले बताए।
करिब तीन महिनाअघि ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको बुझिएको उनले बताए।
सोमबार मध्याह्न त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएको भिडिओ पनि बाहिरिएको थियो। भिडिओमा उनले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश पोखेको सुनिन्थ्यो।
विवादको क्रममा उनले सडकमा बस तेर्साएका थिए। पछि उनले बसस्टपमा लगेर बस रोकेका थिए। यात्रु सबै झरिसकेपछि उनले बस भित्र आगजनी गरेका थिए। आगजनीबाट उनीसमेत घाइते भए। प्रहरीले उनको उद्धार गरी कीर्तिपुर अस्पताल पठाएको थियो।
घटनाको छानबिन गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ। पाँच सदस्यीय समितिलाई छिटो प्रतिवेदन बुझाउन भनिएको छ।

















