काठमाडौं — नेकपा (जनपक्ष) ले रुस–युक्रेन युद्धसँगै विश्वमा “नयाँ खालको तेस्रो विश्वयुद्ध” सुरु भएको दाबी गर्दै यस विषयमा खुला वैचारिक बहसका लागि सार्वजनिक बहसपत्र जारी गरेको छ। पार्टी अध्यक्ष महिन्द्र मल्लले २०८३ भदौ २८ गते जारी गरेको बहसपत्रमा शीतयुद्ध, समाजवादी आन्दोलन, प्रतिक्रान्ति तथा पछिल्ला जनविद्रोहका लहरबारे पार्टीको दृष्टिकोण प्रस्तुत गरिएको छ।
बहसपत्रमा सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेपछि अमेरिका नेतृत्वको पश्चिमी शक्ति र रुसबीच नयाँ प्रकारको विश्वव्यापी संघर्ष सुरु भएको दाबी गरिएको छ। पार्टीले यसलाई परम्परागत प्रत्यक्ष विश्वयुद्धभन्दा फरक रहेको र सैन्य संघर्षसँगै आर्थिक, व्यापारिक, कूटनीतिक, प्राविधिक, प्रचार तथा मनोवैज्ञानिक संघर्षसमेत समेटिएको “अप्रत्यक्ष समग्र युद्ध” का रूपमा व्याख्या गरेको छ।


















