राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद खम्बबहादुर खातीले वर्तमान सरकारको कार्यशैली र सुशासनको नाराप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खातीले भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि गठित संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका हुन् । सांसद खातीले सरकार परिवर्तन हुनुलाई सामान्य राजनीतिक प्रक्रियाका रूपमा लिएपनि त्यसले जनताको दैनिक जीवनमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनको अभाव खड्किएको बताए ।
उनले सुशासनलाई आजको राजनीतिको सबैभन्दा लोकप्रिय शब्द भन्दै तर त्यो भाषणमा मात्र सीमित रहेको आरोप लगाए । नागरिकहरू सरकारी कार्यालयमा सेवा लिन जाँदा अझै पनि पहुँच र चिनजान खोज्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले सुशासनको अनुभूति जनताले गर्न नपाएको जिकिर गरे । उनले भने, ‘सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, नारा फेरिन्छन् तर समस्या उही रहन्छ । जनताले पटक-पटक प्रश्न गरिरहेका छन्, के सरकार फेरिएको हो कि केवल कुर्सीमा बस्ने मानिस मात्र फेरिएका हुन् ? विपक्षमा हुँदा भ्रष्टाचारको विरोध गर्ने, सत्तामा पुगेपछि समिति र आयोग बनाउने, अनि प्रतिवेदन सार्वजनिक गर्न डराउने प्रवृत्तिले लोकतन्त्रमाथि प्रश्न उठाएको छ ।’
उनले राज्यका संस्थाहरूलाई बलियो नबनाई गरिने यस्ता घोषणाले कुनै ठोस परिणाम नदिने चेतावनी दिए । उनले सामाजिक सञ्जाल र सूचना प्रविधिले राजनीतिमा ल्याएको बदलावबारे टिप्पणी गर्दै राज्यका संयन्त्रहरू सत्य-तथ्य सूचना प्रवाह गर्न असफल भइरहेको बताए ।


















