प्रधानमन्त्रीको सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : क्रान्तिशिखा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सम्बोधन सुरुआत मात्रै भएको बताएकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले जलवायु विपत्‌ र मानवीय संकटलाई विश्वमञ्चमा लाने प्रयास भएको भन्दै उनले यस्तो बताएकी हुन् ।

‘साँच्चै नै, ‘नेपालका लागि जलवायु विपत्‌ मानवीय संकट मात्रै हुँदै होइन, खासमा विकासको आपत्काल पनि हो । हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ । तर, यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन’, उनले लेखेकी छिन्, ‘हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्‍याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता छ, यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ । यो पहललाई विश्वमञ्चसम्म पुर्‍याउन नेतृत्व गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार ।’

हतियार आउने तर, किसानले मल र इन्धन किन्न नपाउने विषयलाई प्रधानमन्त्रीले प्राथमिकतापूर्वक उठाएको भन्दै प्रशंसा गरेकी छिन् । बालेनले यूएन महासभामा अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलाबारुद सीमा पार गर्ने तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा मल वा इन्धन किन्न नपाउने विषयलाई प्राथमिकतापूर्वक उठाएका थिए ।