विराटनगरमा तास खेलिरहेको स्थानबाट पक्राउ परेका एक जनाको मृत्यु भएको छ भने भाग्ने क्रममा दुई तलाबाट हामफालेका अर्का एक जना घाइते भएका छन् । सोमबार राति विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो। त्यसक्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार कोइराला सामान्य घाइते अवस्थामा पक्राउ परेका थिए । स्वास्थ्य परीक्षणपछि उनलाई अन्य सात जनासँगै हिरासतमा राखिएको थियो । मंगलबार बिहान करिब साढे ७ बजे उनी हिरासतमा अचेत अवस्थामा भेटिएपछि कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो। चिकित्सकले बिहान करिब ११ बजे उनलाई मृत घोषित गरेका हुन् ।
प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो। मृत्युको कारण भने खुल्न बाँकी छ । भाग्ने क्रममा दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ।
उनको श्री अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट आठ जनालाई पक्राउ गर्नुका साथै ४८ हजार ३९५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।


















