निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। आइतबार दिउँसो काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो । तर, उनी कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन्।

देउवा पक्षले निमन्त्रणा गर्ने शैलीप्रति असन्तुष्टि जनाएको छ। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली शनिबार साँझ चुनदेवीस्थित देउवा निवास पुगे पनि घरमा देउवा वा परिवारका सदस्य नभेटिएपछि निमन्त्रणा पत्र बाहिरै छाडेर फर्किएको बताइएको छ।

‘निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअघि नै आएर दिएको भए हुन्थ्यो। घरमा कोही नभएका बेला आएर निमन्त्रणा छाडेर पनि कहीँ हुन्छ ?’ भानुले भने।