नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गरेर अघि बढ्ने समझदारी भइसकेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेकपा बागमती प्रदेश सम्पर्क कमिटीको कार्यक्रममा बोल्दै प्रचण्डले एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको बताएका हुन्। उनका अनुसार अन्य वामपन्थी तथा देशभक्त शक्तिसँग पनि सहकार्यका विषयमा छलफल भइरहेको छ। प्रचण्डले बदलिँदो राजनीतिक परिस्थितिअनुसार अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्यबारे पनि आवश्यक पहल भइरहेको बताए। निर्वाचन सम्पन्न भए पनि जनजीवन सहज बन्न नसकेको उनको भनाइ थियो।
उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा प्राप्त अधिकारमाथि चुनौती देखिएको भन्दै त्यसको सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। यसअघि पनि प्रचण्डले एमालेसँग प्रदेश सरकारमा भइरहेको सहकार्यलाई सदनको बहस हुँदै स्थानीय तथा प्रदेशसभा निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका थिए।




















