नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएको बारेमा प्रश्न गरेका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा भएको कांग्रेसको १५औँ महाधिवेशनमा बोल्दै उनले सो प्रश्न गरेका हुन् ।
‘गगनीजी ऊ माथि आकाशमा हेर्नुस् । आकाशमा कालो बादल छ भने तपाईंको दायाँपट्टि नेपालको राष्ट्रिय झण्डा छ र बाँयापट्टि कांग्रेसको झण्डा छ । नेपाली कांग्रेस एउटा ऐतिहासिक पार्टी हो जसले राणाशासनका अन्त्य गर्यो, पञ्चायती व्यवस्थाको समाप्त गर्यो । दश वर्षको जनयुद्धलाई खेप्यो,’ उनले भने, ‘नेपाली कांग्रेस त्यतिमा सीमित छैन । मैले सभापतिको प्रशंसा गर्न खोजेको होइन । १९ दिने जनआन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाउने एउटा युवा आजका सभापति गगन थापा हुनुहुन्थ्यो । तर गगनजी यो आन्दोलनमा हामी पनि समाहित थियौँ ।’
चौधरीले धर्म साटेको बारेमा कांग्रेस सभापति थापालाई प्रश्न गरे । ‘१९ दिने जनआन्दोलनसँगै मेरो धर्म किन साटियो गगनजी ?’ उनले प्रश्न गरे ।




















