जनावरहरूले पनि महसुस गर्छन् : छुट्टै पशु कल्याण ऐनको माग

 

काठमाडौं, ४ अक्टोबर २०२६। विश्व पशु दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत जनावरलाई कानुनी रूपमा संवेदनशील प्राणी (Sentient Beings) का रूपमा मान्यता दिँदै उनीहरूको अधिकार र कल्याण सुनिश्चित गर्न नेपालमा छुट्टै र स्वतन्त्र पशु कल्याण ऐन निर्माण गर्नुपर्ने माग गरिएको छ।

विश्वभर हरेक वर्ष अक्टोबर ४ मा मनाइने विश्व पशु दिवसको अवसरमा एनिमल नेपालले आयोजना गरेको कार्यक्रममा पशु कल्याणसँग सम्बन्धित अभियन्ता, संस्था तथा सरोकारवालाहरूले जनावरले पनि पीडा, डर, तनाव, भोक, प्यास तथा अन्य संवेदना महसुस गर्ने भएकाले उनीहरूको संरक्षण र कल्याणलाई कानुनको मूल विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको सञ्चालन एनिमल नेपालकी फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले गर्नुभएको थियो। कार्यक्रममा पशु कल्याणका विभिन्न विषय, पशुपन्छी ढुवानीमा देखिएको अमानवीय व्यवहार तथा नेपालमा छुट्टै पशु कल्याण ऐनको आवश्यकता बारेमा छलफल गरिएको थियो।

कार्यक्रममा एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणालेनेपालमा पशुपन्छीको ढुवानीदेखि पालनपोषण र वधसम्मका क्रममा ठूलो पीडा र कष्ट हुने गरेको बताउनुभयो। उहाँले विद्यमान कानुन तथा मापदण्ड भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा पशुपन्छीले अनावश्यक पीडा भोगिरहेको बताउनुभयो।

विश्व पशु दिवसको सन्देश

अक्टोबर ४ मा मनाइने विश्व पशु दिवसको अवसरमा आयोजित कार्यक्रमले “यो संसार सबै प्राणीहरूको साझा घर हो” भन्ने भावना र पशु कल्याणमैत्री वातावरण निर्माणको आवश्यकतालाई जोड दिएको छ।

कार्यक्रममार्फत नेपाल सरकारलाई हालको पशु सेवा तथा पशु कल्याण विधेयकको मस्यौदालाई पुनर्विचार गर्न, पशु कल्याण क्षेत्रमा कार्यरत संस्था तथा अभियन्तासँग सार्थक परामर्श गर्न र सबै पशुको हितलाई केन्द्रमा राखेर स्वतन्त्र, समग्र तथा आधुनिक पशु कल्याण ऐन निर्माण गर्न आग्रह गरिएको छ।

एनिमल नेपालले पशुहरूलाई उत्पादनका साधन वा सम्पत्तिका रूपमा मात्र नभई पीडा, डर, तनाव, सुख र अनुभूति गर्न सक्ने संवेदनशील जीवका रूपमा कानुनी मान्यता दिनुपर्नेमा जोड दिएको छ।

 

कार्यक्रममा एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले  “पशुपन्छी ढुवानी गर्दा धेरै कष्ट, सकस र चोट भोगिरहेका छन्, कानुनमा भएको मापदण्डको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन,” भन्नुभयो, “पशुपन्छी ढुवानी मापदण्ड कार्यान्वयन नगर्नेलाई जरिवाना गरिए पनि त्यो जरिवानाले पशुलाई तत्काल कुनै राहत हुँदैन।”

उहाँका अनुसार लामो दूरीसम्म पशुपन्छी ढुवानी गर्दा उनीहरूलाई आवश्यक विश्राम, पानी, खाना तथा उपचारको व्यवस्था नहुँदा थप पीडा हुने गरेको छ। बिरामी तथा घाइते पशुलाई सुरक्षित रूपमा उपचार गर्ने, खाना तथा पानी उपलब्ध गराउने र विश्रामको व्यवस्था गर्ने प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो।

राणाले पशुपन्छी ढुवानीमा देखिने अवस्थालाई उदाहरण दिँदै बस तथा अन्य सवारीसाधनको डिकीमा खसी, बाख्रा तथा पाठापाठीलाई कोचेर लैजाने, घाँटीमा डोरी बाँधेर लछारपछार गर्ने तथा लाठीले हिर्काउनेजस्ता व्यवहार रोक्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, भैँसी तथा राँगाको ढुवानीमा पनि शरीरमा चोट लाग्ने, कान तथा अन्य संवेदनशील भागमा डोरी वा अन्य साधन प्रयोग गर्ने जस्ता पीडादायी अवस्था देखिने उहाँले बताउनुभयो।

जीवित कुखुरालाई समेत खुट्टातर्फबाट बाँधेर वा अस्वाभाविक अवस्थामा लामो दूरीसम्म ढुवानी गर्ने गरिएको भन्दै उहाँले यस्तो व्यवहार पशु कल्याणको आधारभूत सिद्धान्तविपरीत भएको बताउनुभयो।

“मानिसलाई जस्तै पशुपन्छीलाई पनि बाँच्न, सहज रूपमा हिँड्न, खान, पानी पिउन र विश्राम गर्न आवश्यक हुन्छ,” राणाले भन्नुभयो, “उनीहरूलाई केवल वस्तु वा उत्पादनको साधनका रूपमा हेर्ने होइन, पीडा, डर, तनाव र अनुभूति गर्न सक्ने संवेदनशील जीवका रूपमा व्यवहार गर्नुपर्छ।”

छुट्टै पशु कल्याण ऐन आवश्यक

एनिमल नेपालले सरकारले अघि सारेको पशु सेवा तथा पशु कल्याण विधेयक, २०८३ पशु कल्याणलाई केन्द्रमा राखेर तयार गरिएको स्वतन्त्र कानुन नभएको भन्दै यसप्रति असहमति जनाएको छ।

एनिमल नेपालका अनुसार प्रस्तावित विधेयकमा पशु उत्पादन, पशुपालन, प्रजनन, आनुवंशिक सुधार, पशु स्वास्थ्य, रोग नियन्त्रण, व्यापार, खाद्य सुरक्षा, क्वारेन्टाइन तथा उत्पादन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ भने पशु कल्याणलाई सीमित रूपमा समेटिएको छ।

एक दशकभन्दा बढी समयदेखि नेपालमा पहिलो स्वतन्त्र तथा समग्र पशु कल्याण ऐन निर्माणका लागि पैरवी गर्दै आएको एनिमल नेपालले करिब चार वर्षअघि विभिन्न पशु कल्याण संस्था तथा अभियन्तासँग सहकार्य गरी नेपालको पहिलो छाया पशु कल्याण ऐन (Shadow Animal Welfare Act) समेत तयार गरेको जनाएको छ।

व्यापक अध्ययन, प्राविधिक विशेषज्ञता, छलफल तथा परामर्शका आधारमा तयार गरिएको उक्त मस्यौदा आधुनिक, वैज्ञानिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल स्वतन्त्र पशु कल्याण ऐनका रूपमा सम्बन्धित सरकारी निकायसमक्ष प्रस्तुत गरिएको संस्थाले जनाएको छ।

तर, सरकारले सार्वजनिक गरेको वर्तमान मस्यौदाले पशु कल्याण आन्दोलनले उठाउँदै आएको मूल उद्देश्य सम्बोधन गर्न नसकेको एनिमल नेपालको भनाइ छ।

संस्थाका अनुसार वास्तविक पशु कल्याण ऐनले घरपालुवा, सडकमा रहेका, काममा प्रयोग हुने, फार्ममा पालिएका, मनोरञ्जन तथा अनुसन्धानमा प्रयोग गरिएका, बन्दी अवस्थामा रहेका तथा अन्य सबै पशुको जीवन, संरक्षण, उद्धार, पुनःस्थापना, यातायात, पालनपोषण, मानवीय व्यवहार, कार्यान्वयन संयन्त्र, शिक्षा, अनुसन्धान तथा उत्तरदायित्वलाई समेट्नुपर्छ।

“पशु कल्याण कुनै कानूनको एउटा अध्याय मात्र हुन सक्दैन। यो सम्पूर्ण कानूनको उद्देश्य, आधार र आत्मा हुनुपर्छ,” एनिमल नेपालको धारणा छ।

विश्व पशु दिवसको अवसरमा एनिमल नेपालको सन्देश स्पष्ट छ—जनावरहरू पनि महसुस गर्छन्। उनीहरूको कल्याण दया वा करुणाको विषय मात्र होइन, अधिकार र कानुनी संरक्षणको विषय हो।

त्यसैले नेपालमा पशु कल्याणलाई कानूनको एउटा अध्यायमा सीमित नगरी त्यसलाई नै कानूनको मूल उद्देश्य, आधार र आत्मा बनाउने गरी छुट्टै पशु कल्याण ऐन निर्माण गर्नुपर्ने माग गरिएको छ।