भोटेकोसी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगन गर्ने सरकारको निर्णय

सरकारले भोटेकोसी–त्रिशूली बाढीपछिको अत्यावश्यकबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको हो।

बैठकले प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइने बताएका छन्। प्रदेश सरकार तथा विपक्षी दलका नेताहरूले पनि सरकारको अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले बाढी तथा मनसुनजन्य विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, स्वयंसेवक, सञ्चारकर्मी तथा सहयोगी निकायलाई धन्यवाद दिएको छ।