नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ । जारी महाधिवेशनअन्तर्गत ढुंगानाले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी घोषणा गरेका हुन् ।
ढुंगाना २०७४ सालमा नीलकण्ठ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । पहिलो कार्यकालमा नेपाल नगरपालिका संघको महासचिवको जिम्मेवारी सम्हालेका उनी २०७९ मा दोस्रो कार्यकालका लागि नगर प्रमुख निर्वाचित भएपछि नेपाल नगरपालिका संघको अध्यक्ष बनेका हुन् । उनले केन्द्रीय सदस्यको उम्मेदवारी दिन लागेको खबरसँगै देशभरका प्रतिनिधिबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।



















