गोप्य सूचनाहरु चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको गृह मन्त्रालयले बताएको छ । जसमा उनै मात्रै सदस्य रहेका छन् । ‘सशस्त्र प्रहरीको नियमावली दफा तोकेरै त्यही अनुसार छानबिन गर्ने जिम्मेवारी दिइएको छ,’ गृह स्रोतले भन्यो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । झापा घर भएका अर्का बिचौलियासँग पनि कनेक्सन देखिएको र गोप्य सूचनाहरु चुहाएको आरोप उनीमाथि छ । उनीमाथि छानबिनका लागि तीन दिनको म्याद दिइएको छ । तीन दिनभित्र प्रतिवेदन बुझाएपछि सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ असोजको राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजीको पदावधि चार वर्षको हुन्छ । २८ वैशाख २०७९ मा उनी एआईजी भएका थिए । यो व्यवस्थाअनुसार उनी २७ वैशाखको राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।
(२) उपनियमअनुसार एक वर्ष म्याद थपका लागि सशस्त्र हेडक्वाटर गृहमन्त्रालयमा सिफारिस समेत गरेको थियो । यही बीचमा उनी गोप्य सूचना चुहाएको भन्दै निलम्बनमा परेका हुन् ।




















