यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही २३ असोजबाट टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए । उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराए ।
दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ । महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ ।




















