हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उहाँलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताए ।
उनका अनुसार पाटेकरले बिहान करिब २:३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाएको थियो । रातको समय भएकाले साथीले तत्काल सन्देश देखेन्न । त्यसपछि उनले पाटेकरलाई फोन गरे र बिहान करिब ४ बजे उनको निवासमा पुगे । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएको थियो ।
अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उनलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४स्२० देखि ४स्३० बजेको बीचमा अस्पताल ल्याइएको थियो। “उनी पूर्ण रूपमा अनुत्तरदायी अवस्थामा थिए । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास गर्यौँ, तर उनलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भने ।
पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बताए । उनका परिवारका सदस्य त्यतिबेला उपस्थित नभए पनि साथी र हेरचाहकर्ता भने साथमा रहेको जनाइएको छ ।
पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेको थियो । उनले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गरेको थियो । पछिल्ला वर्षमा पनि उनी चलचित्र क्षेत्रमा सक्रिय थिए र ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गरेको थियो ।




















