यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा पुगेको छ। पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको भए पनि पूर्वी भूभागमा यसको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार अनुकूल वातावरण बन्दै गएकाले अबको दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ। मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गर्नेछ।
महाशाखाले असोज १७ गते सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पश्चिमी भूभागसहित गण्डकी प्रदेशका केही स्थानबाट मनसुन बाहिरिएको जनाएको थियो। हाल पश्चिम नेपालमा पश्चिमी वायु र पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। दुवै प्रणाली कमजोर रहेकाले देशभर वर्षाको गतिविधि न्यून रहेको मौसमविद् सिग्देलले बताइन्।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सरदर मिति अक्टोबर २ हो। यस वर्ष भने मनसुन जुन १९ मा नेपाल प्रवेश गरेको थियो, जुन सरदर मितिभन्दा ६ दिन ढिलो हो। महाशाखाका अनुसार नेपालमा मनसुनको सरदर अवधि ११२ दिन रहेको छ। मनसुन सामान्यतया कोसी प्रदेश हुँदै नेपाल प्रवेश गर्छ र सुदूरपश्चिमबाट बाहिरिन सुरु गरी पूर्वतर्फ क्रमशः बाहिरिन्छ।




















