इरान समर्थित हुथी समूहले आफ्नो पकड विस्तार गर्दै लगेपछि यमनको तेस्रो ठूलो शहर तेइजका बासिन्दा लगातारको बमबारी र अत्यावश्यक सामग्रीको अभावमा परेका छन्। अमेरिका र इरानबीच फारसको खाडीमा बढेको तनावका कारण गत महिना पुनः चर्किएको हुथी र साउदी समर्थित सरकारबीचको द्वन्द्वमा तेइज प्रमुख युद्धभूमि बनेको हो।
हुथीहरूले गत साता तेइजबाट अदन जोड्ने मुख्य सडक बन्द गरेपछि सरकारी सेना घेराबन्दीमा परेको छ। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार शहरमा मानिस, आधारभूत सामग्री र मानवीय सहायता प्रवेश गर्न नसक्दा अवस्था थप बिग्रिएको छ भने मूल्यवृद्धि भएको छ।
सैन्य स्रोतका अनुसार हुथीहरूले सोमबार तेइजबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको अल–मिसराख क्षेत्र कब्जा गरेका छन्। सोमबार राति शहरमा भीषण गोलाबारी भएको स्थानीय बासिन्दाले बताएका छन्।
सरकारी पक्षले गोलाबारीका लागि हुथीहरूलाई जिम्मेवार ठहराएको छ। तर, हुथी समूहका प्रवक्ताले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।


















