बुढीगण्डकी नदीमा गत आइतबार आएको आकस्मिक बाढी हिमपहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै बाढी आउनुमा एकभन्दा बढी कारण रहेको जनाएको छ।
अध्ययनअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङदिलुङ खोला क्षेत्रमा हिमपहिरो खस्दा हिउँ, बरफ र गेग्रानसहितको ठूलो पहिरो गएको थियो। त्यसले उङदिलुङ र स्यारखोलाको दोभान थुनेपछि पानी जम्मा हुने र निकास खुल्ने क्रमबाट आकस्मिक बाढी आएको देखिएको छ।
प्रतिवेदनअनुसार चामर हिमाल र स्येराङ्दी हिमालबीचको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान ४ बजेर २० मिनेटमा पहिरो खसेको थियो। कमजोर चट्टान भएको झन्डै ६ हजार मिटर उचाइको क्षेत्रमा हिमपहिरो गएको र करिब ५ हजार ५०० मिटर उचाइमा रहेका हिमनदी, हिउँ तथा गेग्रानसमेत बगाएको उल्लेख छ।
ठूलो पहिरो जानुअघि र त्यसपछि पनि साना पहिरो गएको अध्ययनले देखाएको छ।



















