राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय निर्माण गर्ने तयारी थालेको छ। त्यसका लागि पार्टीले काठमाडौं उपत्यकाभित्र कम्तीमा तीन रोपनी जग्गा वा उपयुक्त घर खरिद गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको हो।
रास्वपाले चक्रपथसँग जोडिएको वा आसपासको क्षेत्रमा कम्तीमा २० फिट चौडा पक्की सडकले छोएको, कानुनी विवादरहित र आवागमन सहज हुने जग्गा खोजेको छ। असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले अस्थायी कार्यालयको सट्टा आफ्नै स्वामित्वमा स्थायी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै पार्टीले इच्छुक घर तथा जग्गाधनीलाई २१ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ।




















