तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासा चेकपोस्टमा भारतीय पक्षले रोकेपछि उनीहरूलाई नेपाल फर्काइएको हो।
फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ। बालबालिकालाई देहरादुनको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो र उनीहरूलाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय खुलेको छैन।




















