पुल्चोक क्याम्पसका कागजात र डिजिटल अभिलेख नष्ट नगर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) का नाममा परमादेश मुद्दासँग सम्बन्धित आधिकारिक कागजात तथा डिजिटल अभिलेख नष्ट नगर्न र सुरक्षित राख्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र हरिराज कार्कीको संयुक्त इजलासले डा. शेखर अर्यालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२(ज) बमोजिम उक्त आदेश जारी गरेको हो ।

डा. अर्यालले राष्ट्रिय सूचना आयोग र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई विपक्षी बनाई परमादेशको माग गर्दै रिट दायर गरेका थिए । उनले क्याम्पसमा कार्यरत स्थायी, करार तथा आंशिक शिक्षक–शिक्षिकाको कुल सङ्ख्या, विभागगत वितरण, कक्षाभार, नियुक्तिको प्रकृति, नियुक्तिका मापदण्ड, निर्णय, कार्यविधि तथा निर्देशिकालगायत सार्वजनिक सरोकारका सूचना माग गरेका थिए ।

नेपालको संविधानको धारा २७ ले प्रत्याभूत गरेको सूचनाको हक तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिएका सूचना उपलब्ध नगराइएको र सूचना दिन नसकिने वस्तुगत कारण वा निर्णयसमेत नदिइएको भन्दै निवेदकले राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका थिए ।

निवेदकका तर्फबाट उपस्थित अधिवक्ता साम्बराज अर्यालले बहसका क्रममा विपक्षीहरूलाई अन्तरिम आदेशसम्बन्धी छलफलको सूचना प्राप्त भए पनि सुनुवाइमा उपस्थित नभएको जानकारी गराएका थिए ।

माग गरिएका सूचना अझै प्राप्त नभएको देखिएकाले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सूचना मागसँग सम्बन्धित सम्पूर्ण कागजात तथा डिजिटल अभिलेख सुरक्षित राख्न अदालतले आदेश दिएको हो ।

अदालतको यस आदेशसँगै मुद्दाको अन्तिम फैसला नहुँदासम्म सम्बन्धित अभिलेख नष्ट नगरी सुरक्षित संरक्षण गर्नुपर्ने भएको छ ।