एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा हितमा आँच पुर्याउने खालको भएको बताएका छन्।
उनले नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित सम्बन्ध चाहेको बताएका छन् । अर्थमन्त्रीले कुन ‘युग’को कुरा गर्नुभएको हो ? भन्दै प्रश्न गरेका ज्ञवालीले नेपाल र भारतबीच कतिपय समस्या रहेको बताएका छन् ।


















