ओमानको तटीय क्षेत्रनजिक ‘एमएसभी अल जुसुफी’ नामक व्यापारिक जहाजमा भएको हवाई आक्रमणमा परी एक भारतीय नाविकको मृत्यु भएको छ।भारतीय केन्द्रीय जलमार्गमन्त्री सर्वानन्द सोनोवालका अनुसार आक्रमणका बेला जहाजमा १४ जना भारतीय नाविक सवार थिए। ओमान कोस्ट गार्डले १३ जनालाई सुरक्षित उद्धार गरे पनि गुजरातका गान्धार नहिम अजिजको गम्भीर चोटका कारण मृत्यु भएको हो।
मन्त्री सोनोवालले उद्धार गरिएका नाविकलाई स्वदेश फर्काउन र मृतकको शव भारत ल्याउन भारतीय मन्त्रालय तथा ओमानस्थित दूतावासले समन्वय गरिरहेको बताएका छन्। यसैबीच, भारतको विदेश मन्त्रालयले घटनाको निन्दा गर्दै ओमानी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ।


















