आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर घरमा भित्र्याउने परम्परा छ। धनतेरसका दिन नयाँ भाँडाकुँडा किन्दा घरमा लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास रहेको छ। यस दिनलाई धन त्रयोदशी तथा भाण्ड त्रयोदशीका नामले पनि चिनिन्छ।
यमपञ्चकको पहिलो दिनसमेत रहेको आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन परिवारका सदस्यको संख्याअनुसार यमदीप दान गर्ने परम्परा छ। यसो गर्दा यम यातनाबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ। आज धनका अधिपति कुबेरको जन्मदिनका रूपमा पनि विशेष पूजाआराधना गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार र धनवन्तरी जयन्ती भने शनिबार मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
तिहारलाई दीपावली, यमपञ्चकजस्ता नामले पनि चिनिन्छ । दसैँपछिको दोस्रो ठूलो नेपाली पर्व तिहारमा घर तथा व्यापारिक प्रतिष्ठानहरूमा झिलिमिली बत्ती बालेर उत्सव मनाउने गरिन्छ।


















