दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश जारी

 

दानबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पदमा पुनर्बहालीको माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सरकारका नाममा सर्वोच्चले १५ दिनभित्र लिखित जबाफ पेस गर्न आदेश गरेको छ।

त्यस्तै, अन्तरिम आदेशका विषयमा छलफल गर्न  दुबै पक्षलाई मंसिर ७ गते बोलाएको छ। त्यसदिन मन्त्रिपरिषदको कात्तिक १८ गतेको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यो पनि ल्याउन आदेश भएको हो। यो मुद्दाको प्रकृति र संवेदनशीलतालाई विचार गरी अग्राधिकार समेत प्रदान गरेको छ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो।

त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णय समेत गरेको थियो।

त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए। त्यसमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश पौडेलले आदेश जारी गरेका हुन्।