मकवापनुरको भीमफेदीमा गाडी दुर्घटना हुँदा मृत्यु र घाइते भएकाको पहिचान खुलेको छ।
बिहीबार बिहान भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथ सडक खण्डमा बिहीबार बिहान ८:५५ बजे सुमो गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये २ जना र घाइते सात जनाको पहिचान खुलेको हो।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ।
एक महिलाको भने पहिचान खुलेको छैन। उनी चन्द्रनिगाहपुरबाटै गाडी चढेको भन्ने सम्म खुलेको छ।
घाइतेहरूमा दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
गाडी चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै थियो। गाडी घुम्तिमा आफै अनियन्त्रित भइ सडकबाट तल भैसे खोलामा खसेको थियो।
घटनास्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइते अवस्थामा १० जनालाई हेटौंडा अस्पताल पठाइएको थियो।
चिकित्सकले चेकजाँच गर्ने क्रममा तीन जनालाई मृत घोषणा गरेको हो। अन्य घाइतेहरुको उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


















