संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल-भारत सम्बन्धलाई पर्यटन र हवाई सम्पर्कमार्फत थप मजबुत बनाउनुपर्ने बताएका छन्।
भारतको नयाँदिल्लीमा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तारमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका हुन्। नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले धार्मिक, आध्यात्मिक, प्राकृतिक तथा साहसिक पर्यटनका लागि नेपाल भारतीय पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने बताए।
स्वास्थ्य तथा आरोग्य पर्यटनको सम्भावनालाई समेत उनले जोड दिए। उनले पर्यटन प्रवर्द्धनका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार रहेको उनको भनाइ थियो।
यसैबीच मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको हवाई उड्डयन क्षेत्रको विकास, सहकार्य विस्तार र आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।


















