तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।

रसुवागढी नाका बाढीका कारण बन्द रहेको र अन्य उत्तरी नाकासमेत हिउँदमा पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेकाले तातोपानी नाका खोल्नुपर्नेमा उनले जोड दिएका हुन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटमा मन्त्री खनालले काठमाडौँसँग सबैभन्दा नजिक रहेको तातोपानी नाकाले दुई देशबीचको व्यापार, सम्पर्क र आवागमन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। जवाफमा चिनियाँ राजदूत चाङले नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

भेटमा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध, बहुपक्षीयता तथा दुई देशका साझा हित र चासोका विषयमा समेत छलफल भएको थियो।