रास्वपा सभापति रवि त पक्राउ परे, खोई कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल पत्नी अञ्जला ?

 

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न नरहेको सूर्यबहादुर थापा संयोजक रहेको संसदीय समितिकै ठहर थियो । तर, लामिछाने बचत अपचलनमा भने संलग्न देखिएको उल्लेख थियो । त्यसकै आधारमा उनी शुक्रबार पक्राउ परे ।
यता सहकारी ठगीमा भने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू देखिए । तर, उनीहरू पक्राउ परेका छैनन् । कारण, सरकारमा कांग्रेस–एमाले छन् ।

सहकारी ठगीमा कांग्रेस उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य धनराज गुरुङको संलग्नता यसअघि नै खुलेको हो ।
उनले ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना गरेको संसदीय समितिबाटै प्रकाशमा आएको थियो । तर, उनको दल कांग्रेस सरकारमा रहेका कारण उनी जोगिँदै आएका छन् । उनलाई थापा नेतृत्वको समितिले सहकारी ठगीमा दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो । तर, अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्यसंयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको छ ।

सहकारीको रकम हिनामिनाको अपराधबाट जोगिन धनराजले पत्नी ज्योति गुरुङसँग कागजी सम्बन्धविच्छेद गरेका थिए । २९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आएका उनले ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिएका थिए । जहाँ ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख मात्रै गरेनन्, ल्याप्चे नै लगाए । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद कागजमा मात्रै भएको बयान दिएका थिए ।

धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ । तर, संसदीय छानबिन विषेश समितिले नै दोषी ठहर गरेका गुरुङलाई उन्मुक्ति दिने गरी काम भइरहेको स्रोतको दाबी छ ।

यसैगरी, एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा प्रत्यक्ष मुछिएकी छिन् । सरकारकै दबाबमा उनलाई पनि उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अञ्जलाको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ । जबकि उनी ६ वर्ष सहकारीको सञ्चालक थिइन् । त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् ।
१८ करोड ५१ लाख कुल पुँजी रहेकोे यो सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर सञ्चालकहरूले विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेका छन् । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे लगाइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् ।

उमागौरी सहकारी लेखा समिति सभापति पोखरेलकै अगुवाइमा ०६८ मा स्थापना भएको थियो । सहकारीमा श्रीमती अञ्जलालाई उनले सञ्चालकको रुपमा राखेका थिए । अध्यक्ष भने शम्भुप्रसाद रौनियार हुन् । उनी एमालेनिकट छन् । उनी हाल फरार छन् । सहकारीका पीडितले अध्यक्ष, पदाधिकारी र सञ्चालक सदस्यविरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । जहाँ पोखरेलकी पत्नी अञ्जलाको नाम पनि किटान गरिएको थियो । तर, राजनीतिक पहुँचका आधारमा रजिस्ट्रारको कार्यालयले उनको नाम हटाएको छ । करिब डेढ वर्षअघि नै पीडितहरूले दिएको उजुरीमा रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दै आएको थियो । मुद्दा चर्किंदै गएपछि गत २४ भदौमा मात्रै अञ्जलाको नाम काटेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र पठाइएको छ । सहकारीमा रकम हिनामिना हुँदाको बखत ०७२ देखि ०७८ सम्म पोखरेलपत्नी अञ्जला सञ्चालक थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन् ।

यसरी कांग्रेस–एमालेको वर्तमान सरकारले सहकारी ठगीमा संलग्न आफ्नै नेताहरूलाई जोगाएको छ । सहकारी ठगीमा नभई अपचलनमा दोषी ठहरिएका रविलाई भने पक्राउ गरेर कानुनी दायरामा ल्याउन खोजेको छ । यसलाई लिएर हाल चर्को विरोध भइरहेको छ । सरकार भने प्रतिक्रियाविहीन भएको छ । यद्यपि, संसदीय छानबिन समितिका तत्कालीन सभापति सूर्यबहादुर थापाले भने ‘क्लिन चिट वा सफाइ’को चलचित्र फ्लप भएको भन्दै रविविरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।