तुलसी र हाम्रो जीवन

शारदीय नवरात्री एवं कोजाग्रत पूर्णिमाको विदाइ संगै कार्तिक मास तुलसीको विशेष पूजन हुने समय आएको छ । त्यसो त चतुर्मास यसअघि हरिशयनी एकादशीदेखि नै शुरु भइसकेको छ । शारदीय दिन, रात किसानका खेतमा लटरम्म धान बाली झुुलेका बेला प्रकृतिले हामीलाई यसपालि पनि शरदमा ठूलो बज्रपात गरेको छ ।

वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् । पुष्पसारां नन्दिनींच तुलसीं कृष्णजीवनीम् । –( ब्रह्मवैवर्त पुराण ) तुलसीका मुख्य ८ नामहरु हुन् यी । तुलसीको दर्शनले अभिष्ट फल प्राप्त हुन्छ । तुलसीरोपण एकादशी आषाढ शुक्ल एकादशी हरिशयनी हो जुन दिनदेखि चतुर्मास प्रारम्भ हुन्छ । एकादशीको दिन विहानै तुलसीको र श्रीविष्णुको विशेष पूजा गरिन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरुका लागि जीवनको हिर्दयभैmँँ महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा छ । वास्तुपद्धति अनुरुप प्रत्येक तिथि र बारका स्वामीहरु अलग अलग रहेकाछन् । द्वादशीका स्वामी विष्णु हुन्, विष्णु भन्नु तुलसी नै हो । तुलसीको शाब्दिक अर्थ ‘तु’ भन्नाले तुरीय अवस्था मानवको मस्तिष्क ज्ञानको प्रतिक राम वुझिन्छ । ‘ल’ को अर्थ वैराग्यको प्रतीक हाम्रो स्थूलशरीर भाग शेष अर्थात् ‘लक्ष्मण’ बुझिन्छ र ‘सी’ को अर्थ हुन्छ हाम्रो हृदयको प्रतीक भक्ति ‘सीता’ ! हाम्रो मस्तिष्कमा ज्ञान र विज्ञान, हृदयमा प्रेम (भक्ति) र वाह्य शरीरमा वैराग्यको त्रिवेणी भन्नु नै तुलसी उपासनाको मूल ध्येय हो ।

वास्तु शास्त्रअनुसार बनेका या नबनेका घर, महल, मठ, मन्दिरहरुमा र चतुर्मास अवधि (आषाढदेखि कार्तिकसम्म) मा तुलसीको विशेष चिन्तन हुने गर्छ । तुलसीवृक्ष, उपासना वा मोठ भएका घरमा वास्तुदोष रहँदैन । आवास गृहहरुमा अन्य वृक्ष, रुखहरुले छायाँ परेका भए वास्तु दोष मानिन्छ भने तुलसीवृक्षको छायाँ परेमा वास्तुदोष मेटिन्छ । तुलसीको मोठ, गमला आदि सजाउने कार्य उत्तर, पूर्व या पूर्वोत्तर गर्नुपर्छ । तुलसी वृक्षबाट विघ्न, बाधाहरु हट्छन् । मनका भय, अशान्तिहरु दूर हुन्छन् । रोगनाशक शक्ति हुन्छ तुलसीमा ! आपत् उद्वारक बीज शक्ति तुलसीको उपासना गरेरै अपहरित सीतालाई रावणरुपी क्रोध, भय, हिँसाको अनि तनावको स्थितिबाट मुक्त गर्नु भएको थियो श्रीरामले ! पञ्चवटीक्षेत्रमा आफ्नै हातले जलसेचन गर्दै तुलसी प्रार्थना गरेको र उनै राम द्वापरयुगमा कृष्ण भई धर्ती अवतरित भएर वृन्दावन सुरम्य भएको हो । वृन्दा भन्नु तुलसी नै हो, यसको विशालताले त्यो क्षेत्र वृन्दावन भएको हो । अधिल्लो जन्ममा ‘गुणवती’ ले तुलसी उपासना गरेकीले पछि श्रीकृष्णकी पत्नी सत्यभामा भएकी हुन् र उनका पिता सूर्य र तुलसीको उपासनाको कारण ‘सत्राजित्’ भएका र पति ‘चन्द्रदेव’ पछि अक्रुर भई श्रीकृष्णका महा–मन्त्री बनेका हुन् । अघिको ‘तुलसी’ सत्यभामाको घर आँगनीको ‘कल्पवृक्ष’ हो ।

तुलसीवृक्षक्षेत्र आपँैmमा पवित्र त हुन्छ नै नयाँ ऊर्जा पनि यसले दिन्छ । मृत्यु शय्यामा पुग्न लागेकाहरुलाई यसले ‘मृत्युसञ्जीवनी’को काम गर्छ । आयुर्वेदशास्त्रका प्रणेता ‘धन्वन्तरि’ ले तुलसीलाई संपूर्ण आयुर्वेदशास्त्रको प्राण भन्नुभएको छ । धन्वन्तरि जयन्ती भनौँ नेपालको आर्थिक स्रोत जडिबुटीको महत्व दर्शाउने दिन यसै महिनाको कृष्णपक्ष त्रयोदशी भनौँ काग तिहारको दिन हो । पूर्वीयदर्शनमा विश्वास गर्ने हाम्रालागि तुलसी जीवनको आरम्भदेखि मृत्युपर्यन्त जीवन साथी नै हो । तुलसी मञ्जरी (सुकेको पात) हरदम रहने घर, आवास गृहहरुमा प्रेत, पिशाचहरुको भय हुँदैन । शरीर निरोगी हुन्छ । हिजोआज ‘हर्वल टि’, ‘तुलसी चिया’ बिहानै पिउने चलन देखिएको छ । वास्तुपद्धतिअनुसार घरको पछाडि वा दक्षिणक्षेत्रमा तुलसी, मोठहरु गमलाहरु राख्नु हुन्न । पितृहरुका लागि तुलसी अनिवार्य हुन्छ । गाई, गोठ, गौशाला परिसर र तुलसीक्षेत्र परिसरमा ठूला ठूला कष्टहरु सहन गर्ने क्षमता हुन्छ ।

घरघरमा तुलसीको स्थापना गर्नाले परमेश्वर सदा शिव सदैव प्रसन्न हुनुहुन्छ । तुलसीदललाई वैधृतियोग, व्यतीपातयोग, भृगुबार, मङ्गलबार, औँसी, पूर्णिमातिथि, द्वादशी, आशौच समय (मृत्युसूतक) र जन्म सूतकमा टिप्नु हुँदैन । तुलसीका सुप्रसिद्ध आठ नामहरु मध्ये– ‘वृन्दा’, ‘वृन्दावनी’, ‘पुष्पसारा’ ‘नन्दिनी’ हो जसको अर्थ हुन्छ – सारा विश्वलाई पवित्रतम बनाउने ! विश्व ब्रह्माण्डको उदय धर्तीको मूल तत्व पाँचभौतिक पदार्थ (माटो, पानी, वायु, अग्नि, तेज) हो । जल, वायु, तेज, आकाश तत्वबाट सृजित यो सूक्ष्म ब्रह्माण्ड हाम्रो शरीरलाई वास्तुशास्त्रकै विषयवस्तुको समिश्रण भनिएको छ । विशाल ब्रह्माण्डको प्रतीक संसार पनि वास्तुशास्त्रकै विषयवस्तु हो ।

सृष्टिको उषाकालमा ब्रह्माजीको वंशमा तालजङ्ग असुरको उदय भयो । उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो । देवताहरु राज्यच्यूत भए । शिव आज्ञाले श्रीविष्णुले मुर दानवलाई बध गर्ने आदेश दिँदा श्रीविष्णु नै युद्धक्षेत्रमा पराजित भई भारतीयक्षेत्र वदरीकाश्रमको सिँहावतीगुफामा सुत्नु पर्ने भयो । शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेज सहितको एक कन्याको उदय भयो । ती कन्यासंग सम्पूर्ण शस्त्र अस्त्रदेखि युद्धकलाको सम्पूर्ण ज्ञान थियो । ती कन्या त्यही मुर दानवसंग युद्ध गर्न लागिन् । नृशंस र संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट ! श्रीविष्णु पनि आफू जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनु पर्ने र तीर्थमा श्रेष्ठ, विध्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहे अनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले “हुन्छ” भन्ने श्रीविष्णुको आदेश अनुसार सत्ययुगदेखिनै एकादशीको उदय र महत्व बढ्दै आएको हो ।

शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाको दरले वर्षभरिमा चौवीसवटा र पुरुषोत्तम मास समेत दुईवटा गरी जम्मा २६ वटा हुन्छन् । त्यसमध्ये तुलसी वीजरोपणको नामले चिनिने एकादशी भने जेष्ठशुक्ल एकादशी “निर्जला” हो । चतुर्मासकोे समापन हरिबोधिनी एकादशी भने कार्तिक शुक्लमा पर्छ । सामान्यतया द्धादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रात: समय एकादशी, मध्यदिनभरि द्धादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि श्पर्श भएको एकादशीलाई त्रिस्पृशा भनिन्छ । यस्तो पर्व परेमा अन्य एकहजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । शुक्लपक्षको पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो, शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्धादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरु पहिल्याई पुण्य लिने प्रयास गर्नु पर्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ ।

वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सवै नै उपासनाका स्वरुपहरु हुन् । एकादशीमा अन्न खास गरी चामलमा मानिसका दुष्कर्म (पाप) हरु बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ । महिनामा एक दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता राम्रो भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ । आयुर्वेदले पाचन प्रणाली विग्रने कारण नै सबै किसिमका रोगको उदय हुने बताएको छ । व्रतको प्रभाव भने मनको दृढ संकल्प नै हो, मनोवल वृद्धि हो, चित्तशुद्धि हो, धर्म परायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचार व्यक्ति, समूह, समुदायबाट समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । मनोमालिन्य र द्धन्दपूर्ण व्यक्ति र समाज भए भने मुलुक भनौँ वा राष्ट्र अथवा पूरै ब्रह्माण्ड नै उजाड बन्छ । काम्य र नित्य गरी व्रतको दुई स्वरुप छन् ।

उद्धेश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निस्काम व्रतको प्रभावले वढी उद्धेश्य सफल बन्ने हुन्छ – कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । चोरी, हिँसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन संचालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।

वास्तुशास्त्रको स्रोत अग्निपुराण, अथर्ववेद, उपनिषद्हरुदेखि मत्स्यपुराणसम्म र अनेकौँ पूर्वीय धरोहर, साहित्य नै हुन् । यसै अन्तर्गतको छुट्टै पुराण ब्रह्मवैवर्त पुराणले तुलसीको व्यापक चर्चा गरेको छ । तुलसीसँग वायु प्रदूषण मुक्त गर्ने क्षमताको साथै जल प्रदूषणको मुक्तिको क्षमतासमेत रहेको छ । यमुनातटमा द्वापरयुगमा तुलसीवृक्ष भए पनि हाल कलियुगका नदी किनारमा तुलसीवृक्ष निषेध छ । जीवनका सञ्चालक जलशायी विष्णु र विष्णुको प्रतीक तुलसी अनि वर्षाऋतुसँग घनिष्ट सम्बन्ध छ । वर्षाको पूूर्वाभ्यास सँगसँगै अन्नको मूलस्रोत जल भण्डार वितरण आषाढदेखि नै हुने गर्छ । विस्तारै जलको वर्षा कम हुँदै जीवनको मूल स्रोत अन्न भण्डारको थालनी कार्तिकसँगै तुलसीको पूजा समापन हुने गर्छ ।