विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ–शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताईन ।

बिहीबार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै शिक्षामन्त्री भट्टराई बताईन।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरु भन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको बताइन । उनले सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको भन्दै त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताइन ।

शिक्षामन्त्री भट्टराईले विभिन्न विश्वविद्यालयहरु तालाबन्दीको अवस्थामा हुँदा तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको बताइन। आयोगले अध्ययन सकेपछि विश्वविद्यालयमा हुने हस्तक्षेपलाई रोक्न मापदण्ड बनाइने र सोही अनुरुप विश्वविद्यालयलाई निर्देश गर्ने उनले जानकारी दिइन।

शिक्षामन्त्री भट्टराईले शिक्षकले राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने कुराको समाधान विद्यालय शिक्षा ऐनले दिने भन्दै छिटोभन्दा छिटो ऐन पारित गर्नुपर्नेमा जोड दिइन । उनले सोही ऐनले शिक्षकहरु कस्तो हुने भन्ने कुराको परिभाषा गर्ने बताइन। उनले ऐन पारित भएपछि विद्यालय क्षेत्रभित्र देखिएका सबै बेथितिहरुलाई अन्त्य गर्न सकिने बताइन।