अच्युतप्रसाद पौडेल ‘चिन्तन’
सबैभन्दा पुरानो साहित्य वैदिक साहित्य हो । मानव जीवनको प्राचीन इतिहाससंग जोडिएको छ यो । वेद ज्ञान हो, संविधान हो, नियम हो, कानुन हो, नैतिक नियम, दर्शन, धर्म, कला अनि मानवको संस्कृति र सवस्व नै हो । वेदको पर्याय शब्द भनेका श्रुति, आम्नायत्रयी, आगम, निगम हो । सुनेर तयार भएकाले यो श्रुति हो, लिखितम त पछि मात्रै भएको हो, द्दापरका अन्त्यमा वेदव्यासले लिखित बनाए । मनुको अर्थमा वेद प्राचीन र प्रामाणिक ग्रन्थ हो । धर्म जिज्ञासमानानां प्रमाणं परमंश्रुतिः । अर्थात् धर्मको जिज्ञासा मेटाउने श्रुति हो । वेदोअखिलो धर्ममूलम् भनिएको छ, यसको अर्थ रहन्छ, धर्मको मूल जरो वेद नै, यो सर्वज्ञानमयो हि सः भनिएको छ, यसको अर्थ सबैको ज्ञानको भण्डार हो यो । चातुर्वण्र्य त्रयोलोकाश्चत्वारश्चाश्रमाः पृथक, भूतं भव्यं भविष्यं च सर्व वेदात् प्रसिध्यति भनिएको छ, यसो भन्नुको अर्थ चार वर्ण, तीन लोक, चार आश्रम, भूत, भविष्य र वर्तमान सबैको ज्ञानका लागि यो प्रसिद्ध छ ।
सायणका शब्दमा इष्टप्राप्त्यनिष्टपरिहारयोर्लाकिकमुपायं यो ग्रन्थो वेदयति सः वेदः । यसको अर्थ हो, मानवले अभिष्ट प्राप्ति, अनिष्टको नाश र अलौकिक शक्ति प्राप्तिका लागि तयार भएको ग्रन्थ नै वेद हो, ऋषयोः मन्त्र द्रष्टारः भनिएको छ र हाम्रा सबै प्राचीन ऋषि महर्षिहरु मन्त्र द्रष्टा थिए र वेदको अनुशरण गरे । वेद छन्दोबद्ध छ । वैदिक छन्दमा एक बा दुई अक्षारको घटी बढीमा छन्दलाई असर पर्दैन, एक अक्षर कम हुँदा निवृत्त हुन्छ, एक अक्षर बढी भए भुरिक हुन्छ, २ अक्षर कम भए विराट् हुन्छ र २ बढी भए विराट् विशेषण हुन्छ । गायत्री छन्दमा १ अक्षर कम भए निवृत्त गायत्री हुने २ अक्षर कम भए भुरिक गायत्री छन्द हुन्छ । वेदमा ७ मुख्य छन्द रहेका छन्, ७ अति छन्द छन्, जसमा चार चार अक्षरको संख्या बढी हुन्छ, जगति छन्दमा ४८ अक्षर छन्, ४ अक्षर बढी भएमा अति जगति छन्द हुन्छ । ४,४ अक्षर बढ्दै जाँदा कृति, प्रकृति, आकृति, विकृति, संकृति, अभिकृति, उत्कृति हुन्छ, अन्तिम उत्कृति छन्दमा १०४ अक्षर हुन्छ ।
४ वेद ऋग्, यजु, साम, अथर्व हुन् । यी कुनै छन्दमा छन् कुनै ऋचामा छन्, ऋचाहरुको संकलन ऋग्वेद हो । ऋच्यते स्तूयते यया सा ऋक् इति ऋक्शब्दस्य व्युत्पति । ऋग्वेदले देवार्चन, पूजाको विवेचना गरेको छ, यजुर्वेद गद्य प्रधान छ, यज्ञको विवेचना गरेको छ, तिनै मन्त्रहरु गीत प्रधान हुँदा सामवेद हुन्छ र गायन, संगीतसंग समबद्ध हुन्छ, यिनको समष्टिलाई वेदत्रयी भनिन्छ । ऋग्वेद विशालतम छ, सबैभन्दा ठूलो छ ,भाषा र भाव प्रधान छ ।
चार वेदमा ब्रह्मण ग्रन्थ, अरण्यक, उपनिषद् वेदाँग, सुक्त र साहित्य छन् । विराट्पुरुष भगवानबाट पहिले ब्रह्माले सुने, बिस्तारै अरुले । वेद ईश्वरपरक छ, ईश्वर प्रदत्त हो, यो पूर्वीय मत हो पाश्चात्य मत पनि छ, पाश्चात्य मतमा वैदिक साहित्य श्रेष्ठ साहित्य भने म्याक्समुलरले । उनका अनुसार वैदिक साहित्यको आगमन समय १२ सय ई पू देखि ६सय ई पू हो । आर्यहरुको भारतवर्षमा आगमन संगै यसको विकास भएको हो । तर पूर्वीय विद्धान्हरुको मत, ज्योतिष, शत पथ ब्राह्मण सबैको अध्ययन गर्दा ऋग्वेदको रचनाकाल भनेको ६ हजार देखि ४ हजार ई पू को समय हो । ४ वेदका ४ संहिताहरु छन् ऋक्, यजु, साम र अथर्व संहिता । ऋग्वेद संहिता देव स्तुति मन्त्रहरुको संग्रह हो, पद्यात्मक छन्दोबद्ध छ,, यजुर्वेद संहिता यज्ञका लागि हो र गद्यात्मक छ, साम संहिता गीति मन्त्र हो ऋग्वेदबाटै लिइएको हो, सोम यज्ञमा यो विशेष प्रयोग हुन्छ बढी, अथर्व संहितालाई अथर्वाँगिरस पनि भनिन्छ, यसमा २० काण्ड छन्, मानव पाप शुद्धिका लागि विशेष प्रयोग हुन्छ । वैदिक साहित्यका दृष्टिले हेर्दा वेदका मूल ६ थरी छन्, संहितामा, ब्रह्मण ग्रन्थ, आरण्यक ग्रन्थ, उपनिषद् ग्रन्थ, वेदाँग र अनुक्रमणी । ऋक्वेद विभाजन सुक्तमा गरिएको छ, सुक्तको विभाजन मन्त्रमा र ऋचामा गरिएको छ । मण्डल १०, अनुवाक् ८५, सुक्त १०२८ वालखिल्य ११ सुक्त जोड्दा १० हजार ६२७ मन्त्र, ऋचाहरु हुन्छन् । अधिकाँश मन्त्रद्रष्टा ऋषिहरुबाट नै तयार हुन् यी, कुनैमा तिनका पत्नीहरु पनि छन्, जस्तै लोपामुद्रा, अपाला, घोषाहरु । वेद देव प्राधान्य हो, देवतामा अग्नि, ईन्द्र, बरुण, विष्णु, रुद्र, मरुत, पर्जन्य यी वैदिक देवता हुन् । आगो प्रधान अग्नि भए, वर्षा प्रधान इन्द्र भए, वायु प्रधान आदि अरु रहे । ऋग्वेदको दसौँ मण्डलमा दार्शनिक विचार छ, एकोअहं बहुश्याम भनिएको छ, ईश्वर एक, संसार र नश्वर अनेक यसको अर्थ हो, बहु सृष्टि, विशालतम दर्शन छ यसमा । वेदका बहुअर्थी मन्त्रहरु छन्, साधारणले पनि बुभ्mन सक्ने गरी वेदव्यासले पुनर्संरचना गरे यसलाई, वेद विभाजनको अर्थमा व्यासलाई वेदव्यास भनियो । व्यासले महाभारत, रामायण विभिन्न १८ पुराणको रचना गरे, वाल्मीकि रामायणले पनि सो को पुष्टि गरेको छ ।


















