शान्ति क्षेत्र घोषणा राष्ट्रिय स्वाधिनता बचाउनका लागि थियो:इतिहासविद्

अनुमा कोईरालाद्धारा लिखित अनुसन्धानमा आधारित पुस्तक UNVEILING THE MYSTERIES OF NEPALS PEACES ZONE AND POLITICAL DEADLOCK नामक पुस्तक राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । पुर्व राजदुत प्रा.डा. मोहन प्रसाद लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेकपा मालेका अध्यक्ष सीपी मैनाली, ईतिहासका बिज्ञ डा. हेमन्त शमशेर जबरा, डा. निरञ्जन ओझा,डा. निरञ्जन शर्मा र अधिवक्ता स्वागत नेपाल लगायत विशेष अतिथिको रुपमा रहनुभएको थियो ।

पुस्तक बिमोचन कार्यक्रममा अतिथि बक्ताहरुले नेपाल शान्ति क्षेत्र घोषणा गर्नुका पछाडीका कारणहरु के थिए भन्ने भित्रि तथ्यहरुको पुस्तकले रहस्य उद्घाटन गरेको बताउनुभयो । उहाँहरुले राजा बीरेन्द्रले शान्ति क्षेत्र घोषणा गर्नुको भित्री कारण नेपाललाई स्वतन्त्र र सार्वभौम राखिरहनु भएको बताउनुभयो ।उहाँहरुले त्यसबेला यदि नेपाललाई शान्ति क्षेत्र घोषणा नगरे भए भारतबाट नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हुन सक्ने संभावना रहेको औल्याँउदै त्यसलाई रोक्न तत्कालिन राजा बीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव अगाडी बढाएकोे बताउनुभयो ।

अनुमा कोईरालाको पुस्तकले यी नै लुकेका रहस्यहरु बाहिर ल्याएको पनि उहाँहरुले बताउनुभयो । अनुमा कोइरालाले स्नाकोत्तरमा आफ्नो अनुसन्धान पत्र विश्वविद्यालयमा पेश गर्ने क्रममा संकलन गरेका तथ्यहरुलाई संकलन गरेर पुस्तक तयार गरेको बताउनुभयो । पुस्तकमाथि समिक्षा गर्दै अनुमान कोईरालाको सोध निर्देशक समेत रहनु भएका डा. निरञ्जन ओझाले विश्व विद्यालयमा पेश गर्ने अनुसन्धान पत्र एउटा निश्चित ढाँचामा बुझाउनु पर्ने भएपछि त्यसमा नअटेका बिषयलाई पुस्तकको रुपमा प्रकाशित गर्न सुझाव दिएपछि पुस्तक तयार भएको बताउनुभयो । उहाँले यस्तो पुस्तक प्रकाशित गर्दा आउने सम्भाब्य चुनौतीको बारेमा समेत सचेत बनाएको र ती चुनौतीको सामना गर्ने हिम्मत सहित पुस्तक बजारमा ल्याएको बताउनुभयो ।