काठमाडौँका ३ स्थानमा प्रदर्शन

काठमाडौँका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ । नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर र ललितपुरको सिमानास्थित बालकुमारीमा कार्यक्रम गर्दैछन् ।

ट्राफिक व्यवस्थापनका लागी काठमाडौँको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमा प्रसाद चतुर्वेदीले बताए । ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम छ । सो क्षेत्रमा सवारी लैजान रोक लगाएका छन् । प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ । दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको एसएसपी चतुर्वेदीले बताए ।

नेकपा एमालेको र्‍याली ११ बजेबाट भद्रकालीबाट सुरु हुँदै छ । र्‍याली सुरु भएसँगै आवश्यक स्थानमा डाइभर्सन गर्दै लगिने एसएसपी चुतर्वेदीले जानकारी दिए ।