काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
। होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरु बसेका थिए । होटलको रजिष्ट्रेशन बुकमा रमेश माझीको नाममा कोठा बुक भएको थियो । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश र उनकी २९ वर्षीया श्रीमती शर्मिला होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
‘सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव भेटिएको छ, अनुसन्धान गरिरहेका छौं’, परिसरका एसपी अधिकारीले भने । उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको भन्दै आइतबार बिहान साढे ७ बजेतिर प्रहरीलाई खबर आएको थियो । प्रहरी घटनास्थल गएर अनुसन्धान गर्दा उनीहरू शनिबार मात्रै क्यानडाबाट काठमाडौं फर्केको खुलेको छ ।
एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलबाट बरामद भएको पासपोर्टबाट समेत उक्त कुरा पुष्टि हुन्छ । उनीहरू सन् २०२२ मा क्यानडा गएर दुई वर्षपछि शनिबार फर्केको देखिएको छ । आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ । मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।


















