जनमत परीक्षणको संघारमा दलहरू

‘मिसन ८४’ भन्दै आएका राजनीतिक दलहरूको स्थानीय तह उपनिर्वाचनमा जनमत परीक्षण हुँदैछ । उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुँदैछ । उपनिर्वाचनले कुन दल कति लोकप्रिय ? खुट्याउने छ । दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएका छन् ।

कांग्रेस–एमाले नेतृत्वको दुुई तिहाइ बहुमतको सरकार गठन हुँदासमेत जनतामा अपेक्षाकृत आशा जगाउन नसकेको टिकाटिप्पणीकाबीच उपनिर्वाचन हुन लागेको हो । भ्रष्टाचार न्यूनीकरण नभएको, सार्वजनिक सेवा प्रवाहमा सुुधार नभएको, रोजगारीका अवसर सिर्जना नभएको र विधिको शासनको प्रत्याभूति दिलाउन नसकेको आरोप विपक्षीहरूको छ । यही नै बेला बढ्दो अराजकता र दलका नेताहरूप्रति जनतामा वितृष्णा जागेको देखिन्छ ।

यस्तो बेला मतदाताले दलका कि स्वतन्त्र उम्मेदवारलाई रोज्छन् ? मत परिणाम आएपछि थाहा होला । उपचुनाव भने ४१ पदमा हुँदैछ । यसअघि नै ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा टीकाकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् । दुवै जना कांग्रेसका हुन् । उता रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडाअध्यक्षमा जगत घर्ती निर्विरोध भइसकेका छन् । उनी माओवादीका हुन् । बाँकी ४१ पदमा आगामी आइतबार उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगका अनुसार ३७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । कुल २० वटा राजनीतिक दलका उम्मेदवारबाहेक १०२ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानका लागि दुई लाख २६ हजार मतदाता सहभागी हुने भएका छन् ।

उपनिर्वाचन प्रमुख पदका लागि हुन लागेको भने काठमाडौंको कीर्तिपुुर नगरपालिकामा मात्रै हो । यहाँ प्रमुख पदका लागि २० जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट धु्रव महर्जन उम्मेदवार छन् । जसपा नेपालबाट दीपक महर्जन, नेकपा एसबाट भानु रिजाल, नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन, जनमतबाट केशव श्रेष्ठ स्वतन्त्रबाट राजमान महर्जन उम्मेदवार छन् । यहाँ रास्वपाले उम्मेदवार बनाएन । यहाँ रास्वपाले माओवादी उम्मेदवार महर्जनलाई सहयोग गर्ने भएको छ । प्रमुख पदको प्रतिस्पर्धामा स्वतन्त्र १० जना उम्मेदवार छन् । उनीहरू नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धनर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन हुन् ।

२०५४ र २०७४ मा यहाँ एमालेले चुनाव जितेको थियो । तर, २०७९ मा कांग्रेसले जित्यो । यसपटक एमाले पुरानो बिरासत फर्काउने पक्षमा छ । कांग्रेस जितलाई निरन्तरता दिने दाउमा छ । माओवादी पहिलोपटक विजयको झण्डा फहराउने ध्याउन्नमा छ । यहाँ स्वतन्त्र उम्मेदवार राजमान मानवले पनि दलीय उम्मेदवारहरूलाई कडा टक्कर दिने देखिएको छ ।

यस्तै, मोरङको ग्रामनाथ गाउँपालिकाको अध्यक्षमा एक जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी छ । यहाँ कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुल्सीराम विश्वास, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास खवास, राप्रपाबाट दिनेशकुमार थन्दार, नेकपा एसबाट दिलबहादुर विश्वकर्मा र जसपा नेपालबाट सुरेशकुमार राजवंशी उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन थारु, नेमकिपाले परशुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनले भरत राई, जनमतले विनोदकुमार थारु, नेपाल समाजवादीले रामकुमार चौधरी, राप्रपा नेपालले राजु मुसहर, समावेशी समाजवादी पार्टीले बोधनारायण माझी र जसपा नेपालले राजवंशी र नम नारायण माझी स्वतन्त्र उम्मेदवार छन् ।

यहाँ पनि कांग्रेसले जितलाई निरन्तरता दिन चाहेको छ । एमालेले पुरानो बिरासत फर्काउन जोड गरेको छ । कांग्रेसबाट पूर्ववडाध्यक्षलाई पार्टीमा भित्र्याएर माओवादीले पहिलोपटक यहाँ चुनाव जित्ने कोशिस गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगका अनुसार सात जना दल र ९ जना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसले पासदिकी तामाङ, एमालेले उमा शेर्पा, माओवादीले निमलेकी शेर्पा, रास्वपाले गोमा श्रेष्ठ, राप्रपाले मनकुमारी श्रेष्ठ, नेकपा एसले रविना खड्का र जसपाले सपना कार्की खड्कालाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारहरूमा अम्बिका श्रेष्ठ, मधुरा कार्की, दिलबहादुर बस्नेत, दीपक तामाङ, शिव शम्भु तामाङ, अप्सरा विश्वकर्मा, द्धवारिका बुढाथोकी, पुष्प कार्की र सर्किमा शेर्पा छन् ।

यहाँ कांग्रेसले पूर्वउपाध्यक्ष स्व. श्यामसुुन्दर तामाङकै श्रीमती पासदिकीलाई उम्मेदवार बनाएर सहानुभूूतिको मत प्राप्त गर्दै विजयलाई निरन्तरता दिने प्रयास गरेको छ । तर, एमाले र माओवादी कांग्रेसलाई रोक्दै आ–आफूू जित्ने पक्षमा लागेका छन् । उता, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । यहाँ कांग्रेसकी केशकुमारी तुलाचनलाई एमालेले समर्थन गरेको छ । जबकि, कांग्रेस महामन्त्री गगनकुमार थापा गठबन्धनको चर्का विरोधी हुन् । यतिसम्मकी कांग्रेसको महासमिति बैठक मात्रै होइन केन्द्रीय समिति बैठकबाट कांग्रेसले चुनावमा गठबन्धन गर्दैन भन्ने निर्णय नै गराएका थिए । तर, निर्णयको मसि सुक्न नपाउँदै प्रमुख विपक्षी दल माओवादीविरुद्ध दुुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन गरेर यहाँ उपचुनाव लड्दै छन् ।

यहाँ कांग्रेस–माओवादीका उम्मेदवारविरुद्ध नेकपा माओवादीले नरपुरा बुढालाई उठाएको छ । त्यस्तै, नेकपा एसले सुनिता बुढा मगरलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ । अन्य दलबाट यहाँ उम्मेदवारी परेको छैन । बरु, स्वतन्त्र उम्मेदवार कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार छन् ।

यहाँ नेकपा एसले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवारलाई समर्थन गरिसकेको छ । यहाँ यसअघि माओवादीले चुनाव जितेको थियो । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । कांग्रेसले सविता बुढा, नेकपा एमालेले जना शाही, माओवादीले देवकी तिमल्सिना, रास्वपाले बाँचा बुढा, राप्रपाले संगीता शाही र स्वतन्त्र रूपमा रामसरा खड्का र नरेश शाहीको उम्मेदवारी परेको छ । यहाँ पनि माओवादीले जितलाई निरन्तरता दिन चाहेको छ । कांग्रेस, एमाले, रास्वपा, राप्रपालगायत दलले भने पहिलो जित निकाल्न चाहेका छन् ।

जाजरकोटको नलगाड उपप्रमुखका लागि हुने उपचुनावमा ६ जना प्रतिस्पर्धामा छन् । कांग्रेसले इन्द्रा चन्द्र सिहं, एमालेले सुनिता बोहोरा, माओवादीले देवका लामिछाने, रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएका छन् । यहाँ यसअघि कांग्रेसकी सरिता सिंह उपप्रमुख निर्वाचित भएकी थिइन् । तर, भूूकम्पमा परी उनको निधन भयो । यसपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले जितलाई निरन्तरता दिन चाहेको छ । तर, एमाले, माओवादीलगायत दलले कांग्रेसलाई रोक्दै जित निकाल्न खोजिरहेका छन् ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । यहाँ सबै दलबाट मात्रै उम्मेदवार छन् । कांग्रेसले झलकबहादुर भण्डारी, एमालेले जंगबहादुर शाही, माओवादीले जंगबहादुर बराल मगर, रास्वपाले प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गाबहादुर मगरलाई उम्मेदवार बनाएका छन् । यहाँ कांग्रेसबाट यसअघि लछुुमन गुुरुङ निर्वाचित भएका थिए । तर, उनको निधनपछि हुन लागेको निर्वाचनमा कांग्रेसले युवा नेतालाई अघि सारेर चुनाव जित्न चाहेको छ । अन्य दलहरूले भने यसपटक कांग्रेसलाई पराजित गर्दै जित दर्ता गर्न खोजिरहेका छन् ।

यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पनि सबै जना दलीय र महिला उम्मेदवार छन् । कांग्रेसले पुल्तीसरा शाही, एमालेले सुलोचना कुमारी भण्डारी, माओवादीले राजुकुमारी विक, राप्रपाले सुना देवी थापा भोटे र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको छ । तर, यहाँ माओवादी उम्मेदवार र गाउँपालिका कमिटीले एमाले उम्मेदवार भण्डारीलाई समर्थन गरेको छ । पार्टी केन्द्रले पनि अस्वीकार गरेको छ । बरु, नेकपा एसकी उम्ेमदवार शाहीलाई समर्थन गर्न निर्देशन दिएको छ । यहाँ गत निर्वाचनमा कांग्रेसले जित निकालेको थियो ।