‘तामाङ मिडिया अवार्ड’ रीना मोक्तानलाई

तामाङ पत्रकार संघ काठमाडौं शाखाले काठमाडौं तामाङ मिडिया अवार्ड तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शाखाले काठमाडौं तामाङ मिडिया अवार्डु कान्तिपुरकर्मी रीना मोक्तानलाई प्रदान गरेको छ । त्यसैगरी तामाङ पत्रकार संघ काठमाडौं शाखाका संस्थापक अध्यक्ष युनिकरक्षे ग्लान र रेडियो सिन्धुकर्मी अस्मी स्याङ्तानलाई सम्मान गरिएको छ । भाषाविद् तथा तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योन्जन, शाखाका अध्यक्ष सन्तोष योन्जन तामाङ, नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सन्चु ब्लोन तामाङ, लेखक प्रतीक ङेसुर, लेखक तथा अनुसन्धाता रवीन्द्र तामाङ लगायतको उपस्थितिमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले तीनैजनालाई सम्मानपत्र सहित सम्मान अर्पण गरे ।

रेडियो नेपालका कार्यकारी निर्देशक लामाले सम्पुर्ण समुदायका पत्रकारहरुले समाचार लेखनमा सांस्कृतिक, भाषिक, भूगोललाई जोडेर लेख्नुपर्ने बताए । उनले भने, राज्यले हामीलाई नगर भनेको छैन । तर हामी आफैंले अल्छी गरिरहेका छौं । आफ्नो भूगोल, संस्कृति, भाषामा निकटता छैन । यो समस्या सबैजसो समुदायका पत्रकारहरुमा छ । मातृभाषाका रेडियो कार्यक्रमका लागि रेडियो नेपालले बृहत रुममा कार्ययोजना बनाएको उनले सुनाए । यसले समावेशी प्रसारणमा विशेष भुमिका खेल्ने उनको विश्वास छ ।

घेदुङका कार्यवाहक अध्यक्ष तामाङले तामाङ पत्रकार संघ यहाँसम्म आइपुगेकोमा खुसी व्यक्त गरिन् । तामाङ पत्रकारहरु व्यावसायिक रूपमा समेत पत्रकारिता क्षेत्रमा आएको उनले सुनाइन् । तामाङ पत्रकार अहिलेको व्यावसायिक भनिएको पत्रकारितासम्म आइपुग्नु भएको छ । तर मातृभाषाको पत्रकारिता केही पछाडि नै छ।

मातृभाषाको पत्रकारितालाई माथि सम्पुर्ण तामाङ समुदायका पत्रकारहरुलाई उनले आग्रह गरिन् । लेखक तथा अनुसन्धाता तामाङले पनि मातृभाषा सँगै व्यावसायिक लेखन तथा पत्रकारिताका लागि जागरुक हुन सम्पुर्ण तामाङ पत्रकारहरुलाई आग्रह गरे । त्यसका लागि सहयोग र सहकार्यका लागि सधैं तत्पर रहेको उनले बताए ।

कार्यक्रममा लेखक ङेसुर, खोजराज गोले, तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्ष अर्जुन पाखृन, नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा सेलो गायक विशाल काल्तान, अध्यक्ष योन्जन लगायतकाले सम्मानित सबैलाई बधाई दिँदै तामाङ पत्रकारिताको विस्तार र विकासका लागि शुभकामना दिए । काठमाडौं शाखाको यो तेस्रो कार्यकाल हो । शनिबार नै शाखाले चौथो अधिवेशन गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ ।