उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएको छ । आइतबार भएको निर्वाचनमा उनले एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएको हो ।

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उनले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेको थियो ।