लामो रस्साकस्सीबीच नेपाल र चीनले अन्ततः बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा बुधबार नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको हो ।
गत सोमबार चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वय अघि बढाउने कुरामा सहमति जनाउने नजाउने द्विविधा थियो। बीआरआई कार्यान्वयनमा लैजाने कुरामा नेपालसहित छिमेकी र अन्य शक्ति राष्ट्रले पनि चासोसाथ हेरिरहेका बेला हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओली चीन जानुअघि बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले सहमति जनाएका थिए ।
चीनद्वारा प्रस्तावित ‘कार्यान्वयन योजना’ शीर्षक नराखी ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न दुई दल तयार भएअनुसार नै बेइजिङमा बुधबार दुई देशका अधिकारीबीच हस्ताक्षर आदान(प्रदान भएको हो ।


















