वास्तु शास्त्र एवं अध्यात्म विज्ञानका प्रणेता वैदिक ऋषि, महर्षिहरु हुन् । यस्ता तत्वज्ञानी महापुरुषहरु– भृगु, अत्रि, वशिष्ठ, विश्वकर्मा, मय, नारद, नग्नजित्, विशालाक्ष, पुरन्दर, सनत, सनन्दन, सनातन, सनतकुमार, शौनक, शुक्राचार्य, वृहस्पति आदि मुख्य छन् । वास्तुशास्त्रका प्रमुख ज्ञाताहरुबाट निर्देशित घर, भवन, मठ, मन्दिरहरु, महलहरु बढी भरपर्दा र सुरक्षित हुन्छन् । सम्पूर्ण निर्माणस्थलको केन्द्रविन्दु भनेको वास्तुपुरषको ब्रह््मस्थान हो । यो स्थान हरदम खुल्ला हुनुपर्छ । ब्रह््माण्डका सर्जक ब्रह््माको निवास हो यो क्षेत्र ! ब्रह््मस्थानको मूल चिन्तन गर्दै विश्वकर्माले स्वर्गको निर्माण गरेका हुन् । विश्वकर्माले “द्वारका” बनाएका हुन् । समुद्रका गर्भगृहमा बनेको द्वारका परमेश्वर श्रीकृष्णको निबासक्षेत्र हो भने हालको दिल्ली जसलाई महाभारतकालमा “इन्द्रप्रस्थ” भनिन्थ्यो यसको निर्माण “मय” ले गरेका हुन् । आजसम्म पनि समुद्रको तटीयभागमा विश्वका विकसित सिंगापुर आदि मुलुकहरु रहेका छन् । पानीमुनि रेल गुडने पानी मुनि नै चरा उडने मुलुकहरु धेरै छन् अहिले !
भवननिर्माण गर्दा कुमारीको स्थान, नागको शिरको ज्ञान, वास्तुपुरुषको लक्षण जान्नुपर्ने हुन्छ । शास्त्रीयदृष्टिले वास्तुमुहुर्त वैशाख, श्रावण, कार्तिक र मार्गलाई विशेषरुपमा राम्रो मानिएकोे छ । अन्यमहिनाहरुमा वास्तु देवता निद्रामा हुने र वैशाख, श्रावण, कार्तिक र मार्गमा जागा हुने हुनाले पनि यी मासहरुमा निर्माण कार्य वढी हुने गर्छन् । श्रावणमासमा पनि अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, अनुराधा, पूर्वाषाढा, श्रवण, धनिष्ठा, शतभिषा, रेवती आदि नक्षत्र बढी शुभ छन् भने वृष, मिथुन, सिंँह, कन्या, मकर, कुंभ लग्नहरु वास्तुमुहुर्तका लागि बढी ग्राहय छन् । वास्तुपुरुषको पूर्ण दृष्टि जेठ, आषाढ र श्रावणमा उत्तरतर्फ हुने र उत्तर पूर्व तर्फको ऊर्जा बढी सकारात्मक, शुभ र लाभप्रद हुने हुनाले यसबेलाको वास्तुमुहुर्तबाट निर्माण गरिएका घर, भवनहरु, शुभफलदायी, स्वास्थ्यवद्र्धक र बढी समयसम्म टिकाउ हुने हुन्छन् ।
वास्तु मिलेका घर, भवनमा रहने मानिसहरु बढी आनन्दित र सुरक्षित पनि हुन्छन् यस्तै शुभ मुहुर्त हेरेर “मनु” ले “अयोध्या” निर्माण गरे ! रामायण र योगवाशिष्ठको केन्द्रस्थल “अयोध्या” का परम आदरणीय गुरु वशिष्ठ श्रीरामका गुरु हुन् र अयोध्यानगरी बसाउनमा उनको ठूलो देन रहेको छ । गुरु वशिष्ठ वास्तुशास्त्रका प्रणेता भनी माथि नै स्पष्ट गरि सकिएको छ । जुनक्षेत्रमा युद्ध हुँदैन त्यो नै अयोध्या हो । आदिभौतिक, आधिदैविक र आध्यात्मिक हरेक कुराका तीन अवस्थाहरु हुन्छन् । आधिभौतिकनगरी अयोध्या भन्नु सरयुनदीतटको स्थूलसहर अयोध्या हो भने आध्यात्मिकनगरी अयोध्या भन्नु हाम्रो हृदय हो जहाँ भक्तिरुपी सीताको समागम भई सम्पूर्ण जीवप्रतिको स्नेह उजागर हुन्छ । मनुनामक वास्तुशास्त्रीबाट निर्मित अयोध्यानगरी त्रेतायुगदेखि हालसम्म सुरक्षित र संरक्षित छ, जहाँ प्रवेश गर्नाले मात्रै पनि व्यक्ति बढी आनन्दित महसूस गर्छ । मयद्वारा निर्मित द्वारका द्वापरयुगदेखि हालसम्मकै पवित्रस्थल मानिएको छ जहाँ पुगेर क्षणिक विश्राम गर्दा नै मानिसले दिव्य आनन्दको अनुभूति महसूस गर्छ ।
रामायण, योगवाशिष्ठ, बाराहपुशंण, अग्निपुराण, मत्स्यपुराण एवं स्कन्दपुराणको नेपालमाहात्म्यले हाम्रो मुलुकको केन्द्रस्थली पश्चिमक्षेत्र, काली गण्डकीको विशद् चर्चा गरेका छन् । परमेश्वर श्रीविष्णुले माथि उल्लेख गरिएका विश्वकर्मालाई आफनो मूर्ति बनाउन लगाई अति प्राचीनक्षेत्र नेपालको गण्डकीक्षेत्रम राख्न लगाउनु भएको हो । काली गण्डकीक्षेत्रमा हालसम्म पनि असख्य शालिग्रामशिलाहरु पाइन्छन् । शालिग्रामशिला भन्नु भगवान श्रीविष्णुको स्वरुप हो । भनिन्छ – गण्डकी, तुलसी, शालिग्राम, सवैको पुण्यक्षेत्र नेपालधाम ।
नेपाल सत्युगदेखि नै स्थापितक्षेत्र हो । कुनै समय वा व्यक्ति विशेषले पत्तालगाएको क्षेत्र होइन यो ! सत्ययुगमा यसको नाम “सत्यपुरी” थियो भने त्रेतायुगमा यसको नाम “ तपोवन” रहयो । द्वापरयुगमा यसको नाम “मुक्तिपुर” रहयो भने हालको कलियुगमा यसको नाम “नेपाल” रहेको छ । विश्वको सर्वोच्च शिखर रहेको नेपाल “ने” नामक तपस्वी मुनिले बस्ती बसालेकाले यसलाई नेपाल भनिएको हो ! संस्कृत भाषामा “नयेन पाल्यते इति नयपाल: भनिएको छ । न्यायद्वार/धर्मको रक्षागरी जहाँ राज्य सञ्चालन हुन्छ त्यो राज्य “नेपाल” हो भनी अध्यात्मशास्त्रहरुले उद्बोधन गरेकाछन् । समस्त भूगोलको स्रोतस्थलीको रुपमा रहेको नेपालको प्रत्येक कुना कुनामा उपरोक्त वास्तुशास्त्रीहरुको निवासक्षेत्र हो !
विश्वसंपदासूचीमा रहेको मुक्तिक्षेत्र पावनगण्डकीको स्रोत हो । विश्वका सर्जक ब्रह््माले यसै मुक्तिक्षेत्रमा बसेर विशाल वास्तुशास्त्रीय यज्ञ सम्पन्नगरी विश्वको सिर्जना गरेका हुन् । विश्वका प्रत्येक कुनाबाट आउने पर्यटकहरु हालसम्म पनि प्रसिद्ध पोखराक्षेत्रहँुदै गण्डकीको प्राकृतिक आनन्द लिँदै मुक्तिनाथ जाने गर्छन् । भनिन्छ, विश्वका सर्जक ब्रह््मा, पालक विष्णु र संहारकारी रुद्र संयुक्त रुपमा यहाँ विराजमान छन् । कालीगण्डकीमा वास्तुशास्त्री विश्वकर्माले स्थापित गरेका शालिग्रामशिला विश्वमा अन्यत्र कहीँ भेटिन्नन् । कालिगण्डकीमा प्राप्त शालिग्रामको स्थापना एवं नित्यपूजाले घरमा वास्तुदोष रहँदैन । शालिग्रामको पूजा गर्दा भने यसको मुद्रा, आकार एवं चक्रहरुका विषयमा जानकारी लिनुपर्ने हुन्छ । घरमा शालिग्राम पूजा गर्दा धेरै ठूलो वा धेरै सानो आकारको पूजा गर्नु हुँदैन । ठीक मध्यम आकारको नफुटेको, नटुटेको, शंख, चक्र, गद्या, पद्य अंकित शिलाको पूजाले सम्पूर्ण मनोरथ पूरा हुन्छन् । घरमा दरीद्रता, अग्निभय, चोरी, हत्या, हिंँसा, लूटपाट, अपहरण, रोग, सर्पभय, भूकंप आदि केही हुँदैन । वास्तु शास्त्र एवं अध्यात्म विज्ञानमा विष्णुको प्रतीक शालिग्रामलाई उच्च र अतुलनीय रुपमा वर्णन गरिएको छ ।
सबैलाई अवगत छ समय, गतिशील छ र परिवर्तनशील पनि ! समय बलवान पनि छ, यसले आकाशलाई समेत खंडित गर्न सक्छ, बाँकी विषयको कुरै भएन । यो संसार समग्रमा समयकै अधिनमा छ । समय भन्नु काल हो । कालजयी भन्नु महा– मृत्युञ्जयी परमेश्वर हो । शरीरधारी प्राणी कालको वशीभूत छ । महा– मृत्युञ्जयी परमेश्वर सदाशिव हुनुहुन्छ । हामीलाई यो पनि अवगत छ, वस्तुको परिधिभित्र रहने वास्तु पंचतत्वको समिश्रण हो । वास्तु भन्नु पंचतत्वको अभिव्यक्ति हो । जीव हामी अल्पज्ञ छौंँ । सर्वज्ञलाईचाहिँ मायाधीश भनिन्छ । अल्पज्ञलाई मायाधीन मात्र !
वाह््य संसार पनि पंचतत्वकै खेल हो यो विशाल र साकार पनि छ । हाम्रो शरीर र शरीर वरिपरिको घर, परिवेश सूक्ष्म छ, सानो छ । शरीर माटोको अभिव्यक्ति हो, माटो भन्नु जल निर्मित हुन्छ । माटोद्वारा निर्मित अन्न र जलको समिश्रणले सूक्ष्म ब्रह््माण्ड जीव भनौँ शरीरको निर्माण हुन्छ । जलको स्रोत सागर हो, जलमा हावा(वायु) हुन्छ । जीवको सञ्चालन वायुद्वारा हुन्छ । श्वासप्रश्वासको गतिमा शब्दले साथ दिएको हुन्छ । शब्द पनि पदार्थ नै हो, यो आकाश तत्व अन्तर्गत पर्छ । यी सवैमा सहयोगी हुन्छ तेज तत्व, तेज भन्नु अग्नितत्व हो जसको स्रोत हो सूर्य ! वास्तुशास्त्रीय दृष्टिले नवीन र जीवन्त ऊर्जा दिने !
वास्तुशास्त्रको मूल विषय माटो(पृथ्वी) हो । यसका प्रमुख पाँच गुणहरु छन् । वास्तुशास्त्रकै अर्को विषय पानीको चार गुणहरु छन् । तेजको भने तीन गुण र वायुको दुई गुणहरु छन् । आकाशको गुण केवल एउटा मात्र छ । पृथ्वी तत्वका पाँच गुणहरु – शब्द, स्पर्श, रुप, रस र गन्ध हुन् । जलबाट पृथ्वीको निर्माण भएको हो । तेजबाट जलको निर्माण भएको हो । वायुबाट तेजको निर्माण भएको हो । आकाशवाट वायुको निर्माण भएको हो । आकाश स्वयं शब्द ब्रह्म हो । हाम्रा घर, उद्यान, मल, महल, कोठा सबै क्षेत्रको केन्द्र विन्दु भन्नु ब्रह्मक्षेत्र हो । शरीरमा मुटुको महत्व रहेझैँ आफ्नो परिवेशमा ब्रह्म क्षेत्रको अधिक महत्व रहन्छ ।
वास्तुपुरुषलाई स्मरण गरी सुखद आसनमा बसेर प्राणायामद्वारा योगाभ्यास गर्ने व्यक्तिले सदैव समय (काल) माथि विजय प्राप्त गर्न सक्छ । रातमा सुतेको व्यक्ति शयनस्थ हुन्छ । चोरीऔँलाले दुईकान बन्द गरी वेलुकीको खानापछि ब्रह्म चिन्तन गर्दै गोगाभ्यास गर्दा रात्रिका खाना राम्ररी पच्छन् । सम्पूर्ण आन्तरिकरोगहरु दूर हुन्छन् । शरीरमा ज्वरो आउने, सामान्य रुघाखोकी आदि केही हुन्न । दुईघडी (४८ मिनेट) समय सुखासनमा बसेर शब्दब्रह्मको साक्षात्कार गर्नाले काल(समय) माथि विजय गर्न सकिन्छ । अल्पज्ञबाट सर्वज्ञ तिर जानु, मृत्युबाट अमृततर्फ उन्मुख हुनु, जीवत्वबाट शिवत्व प्राप्तिको अवस्था हो । संसारमा शरीरधारी प्राणीहरु आउने जाने गरिरहन्छन् । संसार एउटा यात्रास्थल हो । यहाँ यात्रीहरु अनगिन्ती हुन्छन् । साधकहरु भन्छन्– “संसार एउटा अभूतपूर्व प्रयोगशाला हो ।”


















