योजनाबद्ध हत्यामा अपराधीको तयारी कुन हदसम्मको हुन्छ होला ? तपाईंलाई लाग्ला कि अपराधीले अनुकूल समय, धारिलो हतियार, उपयुक्त ठाउँको पहिचान र आवश्यकता महसुस गरे ‘ग्याङ’ निर्माण गरेको हुन्छ । तर, भक्तपुरको बालकोटमा गएको सोमबार कुलदिप आचार्य र उनका कान्छा छोरा प्रवीणको हत्या स्वीकारेका कुलदिपका जेठा छोरा मिलनले बुबा र भाइको हत्याअघि मोबाइलमा स्केच बनाएर रातो रङ्गले क्रस गरेको भेटिएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अपराधमा संलग्नहरूले त्यस्तो खासै गर्दैनन् ।
तर, मिलनले हत्याअघि मोबाइलमा बुबा र भाइको आकृति झल्किने स्केच बनाएर रातो रङ्गले क्रस गरेको फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । मान्छेको स्केचमा रातो रङ्गले क्रस गर्नुको अर्थ सिध्याउने भन्ने लाग्छ । खासगरी, सुरक्षा निकायले अपराधीको ‘सफाया’ गर्दा स्केच बनाएर यस्तो गर्ने चलन छ । कतिपय अवस्थामा ‘ग्याङस्टार’ले पनि प्रतिद्वन्द्वीको सफाया गर्दा त्यसै गर्छन् ।
मिलनले पनि बुबा र भाइको हत्याअघि स्केच बनाउनु र क्रस गर्नुले उनी योजनाबद्ध रूपमा हत्याका लागि अघि बढेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अनुसन्धानमा संलग्न भक्तपुर प्रहरीका अनुसार मिलनले जिन्दगीमा केही गर्न नसकेकाले बाबु र भाइलाई मारेर आफू पनि मर्ने योजना अनुसार त्यसरी स्केच बनाएको बताएका छन् । यसरी व्यक्तिमा कसरी आफ्नो परिवारका अन्य सदस्यको हत्या गर्नेगरी आपराधिक मनोवृत्ति विकास हुन्छ ?
अपराधशास्त्री तथा अधिवक्ता डा. कुन्साङ लामा योञ्जन भन्छन्, ‘व्यक्तिमा आपराधिक मनोवृत्तिको विकासमा सामाजिक र पारिवारिक परिवेशको महत्वपूर्ण स्थान हुन्छ, त्यस्तो मनोवृत्ति उत्तेजित रूपमा प्रकट भए अपराध हुन्छ र त्यसको स्रोत रिस, आक्रोश, डाह, रिसिइभी र चरम निराशा हुन् ।’
०००
कुलदिपको झोला हेर्दै रुँदै आमा
५६ वर्षीय कुलदिप आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख थिए । त्यसपछि उनलाई अफिसले स्कुटर दिएको थियो । तर, सवारी चालक अनुमति पत्र उनीसँग थिएन । त्यसका लागि फर्म भरेका थिए र परीक्षा दिन खोटाङदेखि गत २८ मंसिरमा बिदा मिलाएर आएका थिए । उनको घर चाहिँ खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हो ।
तर, सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै जेठा छोरा मिलनको हातबाट कुलप्रसाद मारिए ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट फिकाधारामा मिलन र उनका भाइ प्रवीण डेरा गरी बस्थे ।
भाडाको घरको भुइँतलामा यही सोमबार कोठाभित्र मृत अवस्थामा ५६ वर्षीय बाबु कुलप्रसाद र कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य फेला परेका थिए । उनीहरूको हत्या आरोपी जेठा छोराले महाराजगञ्ज पुगेर प्रहरी कार्यालयमा घटनाको एकदिनपछि आत्मसमर्पण गरेका थिए ।
प्रहरीका अनुसार कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार चिन्नै नसकिने अवस्थामा शव फेला परेको थियो । बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीया तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइन, आचार्यको सिङ्गो परिवार र आफन्तजन यतिबेला शोकमा छन् ।
घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्न सक्छ ? आमा रेजिनालाई विश्वास लागेको छैन ।
शवलाई हेर्दा घटना शनिबार भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
कान्छो छोराको घरमा बस्दै आएका खडानन्द र आमा तुलसासँगै थिए गत शनिबार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए कुलप्रसाद । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दु:खद् घटना कसरी भयो ? परिवारजनलाई अचम्म लागेको छ ।
शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्कोतिर छोरा र नातिको अकस्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् । मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइको हत्या गर्यो ? मैले कसरी पत्याउनु ? मेरो छोरालाई मेरो अगाडि ल्याऊ, म उसकै मुखबाट सुन्न चाहन्छुु भन्दै आएकी छिन् ।
परिवारका अनुसार मिलन ध्यान, अध्ययन र कलाकारितामा सक्रिय थिए । लोकसेवाको परीक्षा बारम्बार दिएका थिए । तर, असफल भइरहेका थिए । असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । रेजिना शिक्षण पेसाबाट अवकाश भइसकेकी हुन् । उनी एमाले राजनीतिमा सक्रिय छिन् ।
घटना हुनुभन्दा दुई दिनअघि मात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर, त्यही दिन राति किन त्यस्ता घटना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् । पक्राउपछि मिलन आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा लगेर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।
बुबा र भाइको हत्या स्वीकारेका मिलनले बयानको क्रममा बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाव बढेकाले दुवै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको बताएका छन् । तर, आत्महत्या असफल भएपछि फरार भएको भन्ने बयान मिलनले दिएका छन् ।


















