वरिष्ठ उपाध्यक्ष स्वीकार्दै बामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा जाँदैछन् । एमालेको एउटा सानो समूह लिएर झण्डै तीन वर्ष प्रभावहीन नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरेका गौतम नेकपा एसको ओत लाग्न जान लागेका हुन् । उनीनिकट नेता हरिप्रसाद पराजुलीका अनुसार अन्य नेताको कार्यविभाजन र जिम्मेवारी टुङ्गो लागेपछि नेकपा एकता राष्ट्रिय अभियान नेकपा एसमा समाहित हुने छ । राजनीतिक छवि गिर्दैगिर्दै कमजोर भएपछि उनी माधवकुमार नेपाल र झलनाथ खनालपछिको वरियता स्वीकारेर जाने भएका हुन् ।
५० को दशकमा गौतमको राजनीतिक छवि नेपाली कम्युनिस्ट आन्दोलनमा चम्किलो थियो । अहिलेजस्तो मधुरो थिएन । पार्टी सङ्गठन निर्माणदेखि विचार निर्माणसम्म मात्रै होइन, राजकीय र पार्टी सत्ता जताततै प्रभावी थिए । उनको बोलीसँग शक्ति हुन्थ्यो । तर, यतिबेला उनी निकै कमजोर छन् । उनीसँग सङ्गठन न पछि लाग्ने नेता कार्यकर्ताको शक्तिशाली समूह छ । उनले यसअघि ओली, प्रचण्ड र माधव कसैले पनि नपअत्याएको भन्दै गुनासो गरेका थिए ।
हुन पनि शक्तिहीन भएका गौतमलाई ओली र दाहालले पत्याएनन् । दुई नेतासँग गौतमले सम्वाद नगरेका होइनन् । तर, दुवै नेताले आफ्नो दलमा गौतमलाई भित्र्याउन चाहेनन् । नेपालले चाहिँ तेस्रो वरियताको नेताका रूपमा गौतमलाई नेकपा एसमा स्वागत गर्ने भएका छन् । उनी एमालेका पूर्वउपाध्यक्षसमेत हुन् । उनले यसअघि जसले अध्यक्ष पद दिन्छ, त्यतै जान्छु भनेका थिए । यसबाट उनको अध्यक्ष बन्ने चाहना कति रहेछ भन्ने देखाउँछ । तर, यो चाहना अधुरो राख्दै गौतम नेकपा एसको वरिष्ठ उपाध्यक्ष हुनेगरी जाने भएका हुन् ।
उनले एमालेबाट १८ भदौ २०७८ मा अलग हुँदै ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेका थिए । ओली, दाहाल र नेपाललाई मिलाउन सक्ने खुवीयुक्त नेता भनेका थिए । तर, उनी असफल भए, जुन स्वयंले स्वीकारेका छन् । यस्तोमा नेपालको दल नेकपा एससँग औपचारिक र अनौपचारिक वार्तापछि गौतमले अभियानलाई विलय गराउने भएका छन् । नेकपा एसको महाधिवेशनले पारित गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’लाई गौतमले स्वीकारेका छन् । एसले गत असारमा भएको महाधिवेशनबाट नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यदिशा पारित गरेको थियो । गौतम भित्रिएपछि एमालेका पूर्वअध्यक्ष खनाल, पूर्वमहासचिव माधवकुमार नेपालबीच फेरि एक पटक राजनीतिक सहकार्य हुने भएको छ ।
तर, गौतमबाहेक उनको समूहमा रहेका नेताहरूको कार्यविभाजन टुङ्गो लागेको छैन । यसअघि ओलीले बोलाए एमाले जान आफूलाई हतार लागेको बताएका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका उनले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका थिए । तर, एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उनको दाबी थियो । ओलीले उनलाई वास्तै गरेनन् । बरु, उनका नेता कार्यकर्तालाई एमालेमा भित्र्याए । कारण, ओली आफ्ना प्रतिस्पर्धी नेता भन्दा पनि तल्ला तहका नेता कार्यकर्तालाई भित्र्याउने रणनीतिमा रहेको एमालेकै एक नेताले बताए ।
गौतम नेकपाकालसम्म पनि प्रभावशाली थिए । पार्टी सचिवालय बैठकमा जता उनी ढल्किन्थे, त्यतै बहुमत पुग्थ्यो । त्यसैले पार्टीमा उनको राजनीतिक मूल्य उच्च थियो । त्यसबेला ओली त कहिले दाहाल कित्तामा उभिए । अवसरका लागि अस्थिर नेताको पहिचान बनाए । यद्यपि, प्रतिनिधिसभा चुनाव हारे पनि राष्ट्रियसभा सदस्य भइछाडे । त्यसपछि उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नेगरी संविधान संशोधनका लागि दबाब बढाए । तर, संशोधन भएन । चरम अवसरवादी चरित्रयुक्त नेता गौतम भने यतिबेला भीर नजिकको बुढो रुखजस्तै भए । यस्तो अवस्थामा नेकपा एसमा जाने अन्तिम तयारीमा गौतम छन् ।
गौतम ५० को दशकमा पश्चिम तराईमा एमालेका चर्चित नेता थिए । २०४८ र २०५१ मा बर्दिया क्षेत्र नम्बर १ बाट उनी लगातार विजयी भए । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री भए । तर, २०५६ र २०६४ मा चुनाव हारे । तैपनि उनी २०६४ पछिको संसदबाट उपप्रधान तथा गृहमन्त्री भए । २०७० मा भने बर्दिया १ र प्युठान १ बाट निर्वाचित भए र अन्तिममा बर्दिया छाडे । त्यसबेला पनि उनी उपप्रधान तथा गृहमन्त्री भए । त्यसपछि २०७४ मा वाम गठबन्धनबाट चुनाव लड्दा पनि हारे ।
उनी ती नेता पनि जो महाकाली सन्धीको विरोध गर्दै एमाले २०५४ मा एमाले फुटाउने नेता पनि हुन् । पार्टी फुटाउँदा ठूलो समूह लगेका उनको तत्कालीन दल नेकपा मालेले एउटा सिट पनि चुनाव जितेन । यसपछि फेरि गौतम एमालेमा फर्किएका थिए । यसरी राजनीतिक जीवनमा प्रभावशाली छँदा अवसर पाएका गौतम यतिबेला भने कमजोर राजनीतिक शक्तिका साथ नेकपा एस जान लागेका हुन् । ७६ वर्षीय गौतम हक्की स्वभावका नेता हुन् ।


















