यतिबेला नेपाली संञ्चार माध्यममा एमालेका पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारवाही गरेको बिषय बिशेष चर्चामा छ । यी नेताहरुले एमाले पार्टीको भवन निर्माणको निम्ति व्यापारी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै बिरोधमा बोलेका थिए । स्थायी कमिटी सदस्य पाण्डेले लेखेकि थिईन–पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । त्यस्तै केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन् ।नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भने थिए । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै यी नेतालाई नेकपा एमाले केन्द्रीय कमिटीले निलम्बनको निर्णय गरेको हो । पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।
त्यसो त अहिले एमाले अध्यक्ष के पी ओलीले जे जस्तो ब्यबहार देखाएका छन त्यो बिश्व कम्युनिष्ट आन्दोलनमा नयाँ नभएको जानाकारहरु बताउँछन । बरु के पी ओलीले त्यसकै सिको गरेको बताउछन । किनकि विश्व कम्युनिष्ट आन्दोलनमा जस्तै चाकरी र गाली संस्कृति नेपाली कम्युनिष्ट आन्दोलनमा पनि छ । चाकरीदेखि गालीसम्म विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा प्रथम अन्तर्राष्ट्रिय (सन् १८६४) को समयमा माक्र्सका समकालीन बाकुनिनले प्रथम अन्तर्राष्ट्रियको नेतृत्व हत्याउन सुरुमा माक्र्सको चाकरी गर्दै भने म तपाईको शिष्य हुँ जब नेतृत्व हत्याउन सकेनन् त्यसपछि माक्र्सलाई गाली गर्दै भनेका थिए– माक्स निरंकुशतावादी र तानाशाह छ ।’
लेनिनले काउत्स्कीलाई गद्दार घोषणा गर्दै ‘गद्दार काउत्स्की’ पुस्तक नै लेखेका थिए । त्यस्तै ख्रुश्चोभलेस्टालिन जीवित छँदा ‘स्टालिन मानव जातिका महानतम प्रतिभाशाली व्यक्तित्व, शिक्षक र नेता एवं सदा विजयी मार्शल तथा जनताका सच्चा मित्र हुनुहुन्छ भन्थे तर स्टालिनको मृत्यु (सन् १९५३) भएपछि ख्रुश्चोभले भनेर गाली गरेका थिए ।
स्टालिनलले सन् १९३४ देखि १९३९ को बीचमा लगभग ५० लाख पार्टी सदस्यहरूलाई विभिन्न आरोपमा गिरफ्तार गरेका र तीमध्ये करीब ५ लाखको हत्या गरिएको बताईन्छ । १९३४ मा पार्टीको सत्रौं महाधिवेशनमा भाग लिएका १८२७ प्रतिनिधिमध्ये १९३९ को अठारौं महाधिवेशनसम्म आइपुग्दा जम्मा ३७ जना मात्रै जीवित रहेको बताईन्छ ।सत्रौं महाधिवेशनबाट निर्वाचित १३९ सदस्यहरूमध्ये ९८ जनालाई मारिएको थियो । स्टालिनलाई ‘नोकरशाही र निरंकुश शासक’ भन्दै गाली गर्ने त्रोत्स्कीलाई देश निकाला मात्रै गरेनन्, १९४० मा मेक्सिकोको एउटा गाउँमा लुकेर बसेको अवस्थामा बञ्चरो प्रहार गरेर निर्ममतापूर्वक हत्या गराए ।
यसबाट चिनियाँ कम्युनिष्ट पार्टीभित्र पनि अक्षुत छैन । सन् १९५९ मा रक्षामन्त्री बनेका लिनप्याओ सन् १९६९ को नवौं महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उपाध्यक्ष र घोषित रुपमै माओको उत्तराधिकारी भएका थिए । लिनप्याओ भन्थे– ‘अध्यक्ष माओ असाधारण रुपले महान् हुनुहुन्छ । अध्यक्षका सबै कुरा महान् छन् । पछि यिनै लिनप्याओले माओलाई मार्न ‘प्रोजेक्ट ५७१’ तयार गरे । षड्यन्त्रको योजना खुलेपछि उनी मंगोलियातर्फ भागे । जहाँ हवाई दुर्घटनामा उनको मृत्यु भयो
माओ पार्टी र देशमा सधैं जनवाद (लोकतन्त्र) को पक्षपोषण गर्दथे । ‘सयौं फूललाई फुल्न देऊ, हजारौं विचारलाई प्रतिस्पर्धा गर्न देऊ, ढोका बन्दवादको विरोध गर’ माओका यी भनाइ असाध्यै चर्चित थिए । तर माओलाई पनि आलोचना भन्दा प्रशंसा नै मनप¥यो । उनले नेतृत्व निर्माणका लागि लोकतान्त्रिक विधि निर्माण गर्नुभन्दा लिनप्याओलाई उत्तराधिकारी घोषणा गर्नु सजिलो ठाने । जसको परिणाम लिनप्याओ जन्मियो ।
नेपाली कम्युनिष्ट आन्दोलन पनि चाकरी र गालीबाट अछुतो छैन । स्टालिन र माओत्सेतुङको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा दार्शनिक, वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक सबै क्षेत्रमा जबर्जस्ती परेको देखिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा गालीगलौज त्यहींबाट शुरु भयो । राजतन्त्रको अन्त्य गर्न कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने पुष्पलाल श्रेष्ठलाई गाली गर्दै २०३१ सालमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ नामको पुस्तक नै लेखे ।माओवादी जनयुद्धकालमा मुख्यतः प्रचण्ड र बाबुरामबीच निकै तीखो विचारधारात्मक संघर्ष भएको देखिन्छ । उनीहरूबीच वैयक्तिक संघर्ष नहुँदानहुँदै पनि कहिलेकाहीं निषेधात्मक प्रकृतिको संघर्ष पनि भएको देखिन्छ । भन्न त बिश्वका सबै कम्युनिष्ट पार्टीले जस्तै नेपाली कम्युनिष्टहरुले पनि आफुहरुलाई साम्यबादी भन्नछन । साम्यवाद भनेको विश्वभरिका मानव जाति समान भएको ‘मानव–स्वर्ग’ हो । साम्यवादमा मानव मानवबीच वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय लगायत कुनै पनि प्रकारका शोषण, उत्पीडन, भेदभाव रहँदैन । सबैखाले भेदभावको अन्त्य भएको उदात्त मानव मूल्यमा आधारित विश्व मानव समाज नै साम्यवाद हो । तर ब्यबहारमा चाकडी नै खोज्द छन । मान्छेहरु पनि चाकडी गर्दछन किनकि सत्यको बाटो हिंड्न भन्दा शक्तिको पूजा गर्न सजिलो हुन्छ ।
साम्यवादी उदात्त विचार बोकेका कम्युनिष्टहरू व्यवहारमा पूँजीवादी भन्दा पनि असहिष्णु, निषेधकारी देखिन्छन । अहिले के प ीओलीको कारवाही पनि यी नै घटनाको नायाँ संस्करण भएको धेरैको टिप्पणी छ ।


















